काठमाडौं । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले नेपालले चिनियाँ सरकारका अनुभव र कामहरु सिक्न चाहेको बताउनुभएको छ ।
सिल्क रोड युथ फोरमले सोमबार राजधानीमा गरेको ‘चाइना नेपाल युथ कर्पोरेशन कन्फ्रेन्स’ लाई सम्बोधन गर्दे उपप्रधानमन्त्री पोखरेलले चीनमा पनि कम्युनिष्ट र नेपालमा पनि कम्युनिष्ट पार्टीको सरकार रहेको सन्दर्भमा सरकारले चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा रहेको सरकारका अनुभव र कामहरु सिक्न चाहेको बताउनु भएको हो ।
नेपालका कम्युनिष्टहरुले जनतासँग गरेको प्रतिवद्धता अनुसार अगाडि बढ्ने अठोट गरेको उल्लेख गर्दे उहाँले चिनियाँ कम्युनिष्टहरुकै पथमा नभई नेपालको विशेषता अनुसार पृथक ढंगले अघि बढ्ने स्पष्ट पार्नुभयो ।
उपप्रधानमन्त्री पोख्रेलले जनताको स्वार्थलाई प्राथमिकतामा राख्ने विषय भने चिनियाँ कम्युनिष्ट पार्टी र नेपालका कम्युनिष्ट पार्टीको साझा विषय भएको उल्लेख गर्नुभयो ।
चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपाल भ्रमणको क्रममा नेपाललाई भू–परिवेष्ठितबाट भू–जडित बनाउने अभिव्यक्ति दिएको स्मरण गर्दे उहाँले अब भू–जडित मुलुकको रुपमा विश्व रंगमञ्चमा नेपालले आफ्नो भूमिकालाई स्थापित गर्ने बताउनुभयो ।
चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणले चिन र नेपालको पुरानो मित्रतालाई थप प्रगाढ बनाउने काम गरेको भन्दै उहाँले आगामी दिनमा मित्रतालाई थप उचाईमा पुर्याउने बताउनुभयो ।
भ्रमण हुनु पुर्व कतिपयले चिन सरकारसंग के के माग्छौ भनेर व्यंग्य गर्ने गरेको स्मरण गर्दे उहाँले नेपाल सरकार छिमेकी मुलुकसंगको मित्रतालाई सुदृढ गर्नुपर्छ भन्ने मान्यतामा रहेको स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो ‘कतिपय मानिसहरुले राष्ट्रपतिको भ्रमण भन्दा पहिला तिमी नेपालीहरुको हातमा केके सपिङ लिस्ट छ ? भनि जिज्ञाशा राखे । हामीले त्यसबेला भनेका थियौं हामी सपिङ् लिष्ट लिएर बसेका छैनौं ।
हामीले परिवर्तित सन्दर्भमा हाम्रो मित्रताले उचाई प्राप्त गर्नुपर्छ भन्ने हाम्रो विचार हो भनेर सुनाएका थियौं । त्यस हिसाबले भ्रमणले दुई देशबीचको मित्रताले उचाई प्राप्त गरेको छ । यो मित्रतालाई हामी परपर पुर्याउन चाहन्छौं ।उहाँले चिनियाँ राष्ट्रपति सीको भ्रमणका क्रममा भएका प्रतिवद्धतालाई दृढतापुर्वक कार्यान्वनय गरेर व्यवहारिक रुपमा नै दुई देशको मित्रतालाई थप सुदृढ बनाउन सरकरा प्रतिवद्ध रहेको बताउनुभयो ।