Paschim News

प्रकाशित : २०७६/६/३० गते

टिप्पणी
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले मन्त्रिमण्डल हेरफेर गर्ने तयारी गर्नुभएको छ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससहितका केही राजनीतिक दलले सरकारको पहित्यैदेखि आलोचना गर्दै आएका छन् । पछिल्लोसमय सरकारको कार्यशैलीप्रति पार्टीभित्रै समेत असन्तुष्टि बढ्दै गएको छ । सरकारको चौतर्फी आलोचना हुन थालेपछि प्रधानमन्त्रीले मन्त्रिमण्डल हेरफेरकाे तयारी गर्नुभएकाे हाे ।

कृष्णबहादुर महरा सभामुखबाट बहिर्गमन भएपछि मन्त्रिमण्डल हेरफर गर्नुपर्ने बाध्यता नै भएको छ । संविधानमा सभामुख र उपसभामुख फरक पार्टीको हुनु पर्ने प्रावधान छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी( नेकपा)ले महराको बहिर्गमन पश्चात पनि सभामुख आफ्नै पोल्टामा राख्ने योजना बनाएको छ । नेकपाले सभामुख लिन उपसभामुख छोड्नुपर्ने हुन्छ । त्यसको लागि उपसभामुख डा.शिवमाया तुम्वाहाम्फेले राजीनामा दिनुपर्ने हुन्छ । प्रधानमन्त्रीले तुम्वाहाम्फेलाई उपसभामुखबाट राजीनामा गराएर मन्त्री बनाउने योजना बनाउनु भएको स्रोत बताउँछ ।

प्रधानमन्त्रीले त्यसको लागि सोमबार अध्यक्ष पुष्पकमल दाहालसँग परामर्श गर्नुभएको छ । प्रधानमन्त्ती ओली र अध्यक्ष दाहालबीच बालुवाटारमा भएको करिब २ घण्टाको छलफलमा हेरफेर हुने मन्त्रीको प्रारम्भिक सूचीसमेत बनेको स्रोतको भनाई छ । महराको बहिर्गमनपछि पूर्व सभामुखद्वय सुवास नेम्वाङ तथा ओनसरी घर्ती, पार्टीका प्रमुख सचेतक देवप्रसाद गुरुङ र अग्नि सापकोटाबीच दौडधुप शुरु भएको छ ।

सभामुख यसअघि पूर्व माओवादी केन्द्रकाे पक्षमा थियो । महरा अध्यक्ष दाहालको दाहिने हात नै मानिन्थे । त्यहीकारण अध्यक्ष दाहालले छलफलमा प्रधानमन्त्री ओलीसँग सभामुख पहिलाको भागवण्डा अनुसार नै गर्दा उपयुक्त हुने धारणा राख्नु भएको थियो ।  तर माओवादी पक्षबाटै सभामुखमा आकांक्षी बढी हुँदा दाहाल अप्ठ्याराेमा पर्नुभएको छ । माओवादी पक्षबाट सभामुखमा दाबी गरेकी घर्ती, गुरुङ र सापकोटा तीनै जना अध्यक्ष दाहाल निकट मानिन्छन् । त्यहीकारण अध्यक्ष दाहाललाई कसलाई काख, र कसलाई पाखा’ गर्ने भन्ने अप्ठ्यारो भइरहेको स्रोतको भनाई छ । सभामुख छान्नमा भइरहेको अप्ठ्यारोकै कारण मन्त्रिमण्डल हेरफेर गर्नुपर्ने अवस्था आएको हो । माओवादी पक्षबाट आकांक्षी धेरै भएपछि सभामुखमा सुवास नेम्वाङ नै आउने सम्भावना बढी छ । नेम्वाङले यसअघि सभामुख हुँदा दुई कार्यकाल नै प्रभावकारी भूमिका निर्वाह गर्नुभएको छ । त्यहीकारण उहाँ फेरि सभामुखको लागि प्रवल दावेदार बन्नुभएको हो ।

नेम्वाङलाई सभामुख बनाए, गुरुङ र सापकोटा र पम्फा भुसाललाई मन्त्रिमण्डलमा समेट्नुपर्ने अध्यक्ष दाहालको बाध्यता छ । माओवादी फुटेर छिन्नभिन्न हुँदा गुरुङ र भुसाल मोहन वैद्य नेतृत्वको माओवादीमा हुनुहुन्थ्यो । दाहालले दुबै जनालाई पार्टीमा महत्वपूर्ण जिम्मेवारी दिने शर्तसहित माओवादी केन्द्रमा भित्र्याउनु भएको थियो । भुसाल त्यसपछि माओवादी केन्द्रको प्रवक्ता बन्नुभएको थियो । तर एमाले र माओवादी केन्द्रको एकीकरणपछि भने पार्टीमा उहाँ भूमिका विहीन जस्तै हुनुभएको छ । त्यहीकारण भुसाललाई मन्त्रिमण्डलमा ल्याउनुपर्ने बाध्यता भएको हो ।

त्यस्तै पूर्व मन्त्री सुरेन्द्र पाण्डे फेरि मन्त्ती हुने सम्भावना बढी छ । उहाँलाई अर्थमन्त्री बनाउने तयारी भइरहेको स्रोत बताउँछ । अहिलेका अर्थमन्त्री डा.युवराज खतिवडाको राष्ट्रिय सभा सदस्य कार्यकाल सकिन लागेकोले पाण्डेलाई उहाँको ठाउँमा ल्याउन लागिएको हो । अहिलेका केही मन्त्रीको कारण सरकारको आलोचना भइरहेको छ । केही मन्त्रीले प्रभावकारी भूमिका निर्वाह गर्न सकिरहेका छैनन् । प्रधानमन्त्री ओली र अध्यक्ष दाहालले हटाउने र थप्ने मन्त्रीको सूची बनाइसक्नु भएको छ । तर सूची गोप्य राखिएको स्रोतको भनाई छ ।

नेकपाको आज सचिवालय बैठक बस्दैछ । आजको बैठकमा सभामुख र मन्त्रीको लागि प्रधानमन्त्री र अध्यक्ष दाहालले तयार पार्नुभएको प्रतावित सूचीबारे छलफल हुने स्रोतले जनाएको छ । प्रधानमन्त्री असंलग्न राष्ट्रहरुको १८ औं शिखर सम्मेलनमा भाग जानुभन्दा अघि नै मन्त्रिमण्डल पुनर्गठन सम्भावना छ ।

प्रतिकृया दिनुहोस्