Paschim News

प्रकाशित : २०७६/७/१ गते

धनगढी । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश कमिटीले स्थानीय तहका जनप्रतिनिधिहरुलाई बिशेष प्रशिक्षण सुरु गरेको छ ।स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुलाई कार्यसञ्चालनका क्रममा आवश्यक सहयोग पुगोस भन्ने उद्देश्यले प्रशिक्षण आयोजना गरिएको नेकपा प्रदेश कमिटीका अध्यक्ष कर्ण थापाले जानकारी दिनुभयो ।

प्रशिक्षणमा प्रदेशका सबै स्थानीय तहमा पार्टीका तर्फबाट उम्मेद्वार भई चुनाव जितेका जनप्रतिनिधिहरुको सहभागिता रहेको अध्यक्ष थापाको भनाई छ । संघीयता कार्यान्वयनका सवालमा जनप्रतिनिधिको भूमिका कस्तो हुने, विविध कानुनि जटिलताको समाधान गरी सेवा प्रवाहलाई प्रभावकारी बनाउने, राजनीति तथा विचार  लगायतका विषयमा नेताहरुले प्रशिक्षण दिने तयारी छ ।

केही दिन अघि प्रदेशको बैठक सम्पन्न गरेको नेकपाले त्यसलगत्तै दशैं तथा तिहार लगायतका चाडको बुभकामना सम्पन्न गर्दै शुक्रबारबाट प्रशिक्षण गर्न लागेको हो ।

प्रशिक्षणका लागि नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समेत धनगढी आउनुभएको छ भने प्रदेश इन्चार्ज भीम रावल, स्थायी कमिटी सदस्य लेखराज भट्ट तथा सह इन्चार्जहरु भानुभक्त जोशी तथा खगराज भट्टको समेत उपस्थिति रहेको छ । प्रशिक्षणमा सूदुरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री तथा अन्य मन्त्रीहरुको समेत उपस्थिति रहेको छ ।

प्रतिकृया दिनुहोस्