Paschim News

प्रकाशित : २०७६/७/२ गते

कैलाली । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले मन्त्री फेरबदल गर्ने अधिकार प्रधानमन्त्रीको क्षेत्राधिकारको कुरा भएको बताउनुभएको छ ।

नेकपाबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरुका लागि आयोजित प्रशिक्षण कार्यक्रममा धनगढी आउनुभएका अध्यक्ष दाहालले धनगढी विमानस्थलमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै मन्त्री हेरफेर गर्ने अधिकार प्रधानमन्त्रीलाई भएको बताउनुभएको हो ।

मिडियामा चर्चा भएअनुसार तत्कालका लागि मन्त्रिमण्डल पुनर्गठनको सम्भावना नरहेको बताउदै दाहालले यति जना मन्त्री फेरिने भए रे, यी यी आउन थाले रे भनेर व्यापक हल्ला फैलिएकोमा त्यसमा सत्यता नभएको र त्यस विषयमा प्रधानमन्त्रीसँग गहन छलफल नै नभएको बताउनुभयो ।

सरकार फेरबदलको कुरा प्रधानमन्त्री केपी शर्मा ओलीमा भर पर्ने भएकाले यो प्रश्न आफूलाई नगर्न पत्रकारलाई आग्रह गर्नुभयो ।

सरकार फेरबदलको कुरा के हो ? भन्ने प्रश्नमा दाहालले भन्नुभयो ‘यो प्रश्न मलाई नसोधिदिए हुन्थ्यो भन्ने लाग्छ, यसमा प्रधानमन्त्रीले जे चाहनुहुन्छ त्यही हुन्छ ।’

तपईं पनि पार्टीको अध्यक्ष हो नि भन्ने पत्रकारको थप जिज्ञासामा प्रचण्डले भन्नुभयो, ‘हो म पनि अध्यक्ष हुँ, मन्त्री फेर्दा पक्कै मलाई सोधिन्छ होला तर अहिलेसम्म हामीबीच त्यस्तो कुनै छलफल र चर्चा भएको छैन ।’

प्रतिकृया दिनुहोस्