Paschim News

न्यूज क्लब संवाददाता प्रकाशित : २०७६/७/५ गते

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले जापान नेपालको विकासको प्रमुख साझेदार भएको बताउनुभएको छ ।

जापानी सम्राट नारुहितोको गद्धी आरोहण समारोहका सहभागी हुन सोमबार जापान पुग्नु भएका राष्ट्रपति भण्डारीको सम्मानमा जापानस्थित नेपाली राजदूतावासले गरेको कार्यक्रममा उहाँले नेपालीलाई दुःख पर्दा असल र भरपर्दो मित्रका रुपमा जापानले सघाएको उल्लेख गर्नुभयो ।

गोरखा भूकम्पमा उद्धार, राहत र पुनःस्थापनामा जापानले गरेको सहयोगप्रति राष्ट्रपति भण्डारीले कृतज्ञता व्यक्त गर्नुभयो । राष्ट्रपति भण्डारीले नेपाल र जापाबीच सन् १९५६ देखि दौत्य सम्बन्ध भएको र सांस्कृतिक सम्बन्ध अझ बलियो भएको उल्लेख गर्दै आपसी भ्रमणको आदान प्रदानले सम्बन्धलाई थप सुदृढ बनाएको बताउनुभयो ।

राष्ट्रपति भण्डारीले वनेपादेखि बर्दिबाससम्मको बीपी राजमार्ग दुई देशबीचको सहयोगको उत्कृष्ट नमूना भएको बताउँदै जापानी सहयोगमा सोमबार प्रधानमन्त्री केपी ओलीले शिलान्यास गर्नुभएको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माणले विकासमा नयाँ आयाम थपिएको बताउनुभयो ।

प्रतिकृया दिनुहोस्