Paschim News

प्रकाशित : २०७६/७/७ गते

काठमाडौं । क्याम्पसमा अब श्रम सम्बन्धी कोर्ष समेत पढाइ हुने भएको छ । विश्वविद्यालयले आगामी शैक्षिक सत्रदेखि स्नातकोत्तर तहमा श्रम सम्बन्धी कोर्ष पनि अध्यापन गराउने योजना बनाएको छ ।

सत्तारुढ दल नेकपा निकट मजदुर संगठन जिफन्टको पहलमा विश्वविद्यालय अन्तरगतको मानविकी संकायको स्नातकोत्तर तहमा श्रम ।सम्बन्धी छुट्टै कोर्षको अध्यापन आउदो शैक्षिक सत्रबाट शुरु हुने भएको हो । जिफन्टले सोमबार आयोजना गरेको कार्यक्रममा विश्वविद्यालयका प्राध्यापक केशवप्रसाद अधिकारीले श्रमिकलाई दक्ष बनाउन तथा उनीहरुलाई सम्मानका साथ स्वदेशमै रोजगारीको अवसर सृजना गर्न श्रम शिक्षा सम्बन्धी छुट्टै कोर्ष आगामी शैक्षिक सत्रबाट अध्यापन गराउने तयारी गरिएको जानकारी दिनुभयो ।

उहाँले त्यसका लागि विश्वविद्यालयले छुट्टै विभाग र पाठ्यक्रमको पनि निर्माण गरिसकेको बताउनु भयो । उहाँले पाठ्यक्रममा नेपाली श्रमिकको अवस्था, उनीहरुको आर्थिक तथा सामाजिक रुपान्तरणका लागि गर्नुपर्ने पहल लगायतका विषयबस्तु समावेश गरिएको स्पष्ट पार्नुभयो ।

कार्यक्रममा जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले श्रमिकका लागि सम्मानजनक ढंगले रोजगारीको व्यवस्थापन गर्न विश्वविद्यालयको स्नाकोत्तर तहमा श्रमिक शिक्षा सम्बन्धि छुट्टै अध्यापन गर्न पहल गरिएको बताउनु भयो । उहाँले विश्वविद्यालयबाट प्राप्त हुने जनशक्ति मुलुकका लागि र सबै श्रमिक संगठनहरुको लागि उपयोगी हुने विश्वास व्यक्त गर्नु भयो ।

जिफन्टले श्रमिकको दक्षता वृद्धिका लागि विद्यालय तहदेखि विश्वविद्यालय तहसम्म छुट्टै श्रमिक शिक्षा अध्यापनको व्यवस्था गर्नुपर्ने माग गर्दै आएको थियो ।

प्रतिकृया दिनुहोस्