Paschim News

न्यूज क्लब संवाददाता प्रकाशित : २०७६/७/८ गते

काठमाडौं । सरकार प्रवक्ता एवं संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले नेपालले भारत, चीन र अमेरिकासँग समान ढंगले सम्बन्ध विस्तार गर्न चाहेको बताउनु भएको छ ।

बिहीबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री बास्कोटाले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणले नेपालको प्रभाव विश्वभर परेको स्पष्ट्याउनु भयो । ‘नेपालले भारत, चीन, अमेरिका लगायतका देशसँगको सम्बन्धलाई थप विस्तार गर्न चाहेको छ,’ उहाँले भन्नु भयो, ‘देशको हितमा लाभ लिन र साझा हितका निम्ति भारत, चीन र अमेरिकासँगसँगै अघि बढाउने नेपालको परम्परागत निर्णय नै हो ।’

मन्त्री बास्कोटाले नेत्रविक्रम चन्द विप्लव समूहमाथि लगाइएको प्रतिवन्ध हटाउन नसकिने बताउनुभयो । ‘मुलुकका निम्ति कुनै पनि खालको हिंसा स्वीकार्य छैन’ उहाँले भन्नुभयो, ‘राजनीति गर्ने भए हिंसा छोडेर शान्तिपूर्ण बाटो अबलम्वन गर्नुपर्छ । हिंसा जारी राखे उनीहरुका बन्दी छुट्दैनन् ।’

मन्त्री बास्कोटाले विप्लव समूहलाई हिँसा छोडेर शान्तिपूर्ण राजनीतिमा आउन आग्रह समेत गर्नुभयो ।

प्रतिकृया दिनुहोस्