Paschim News

प्रकाशित : २०७६/७/९ गते

काठमाडौं । नेपाली समाजमा भव्यतापूर्वक मनाइने दोस्रो ठूलो महान् पर्व तिहार शुरु भएको छ । तिहारलाई दीपावली वा यमपञ्चक पनि भन्ने गरिन्छ । कार्तिक कृष्णपक्षको त्रयोदशी तिथिदेखि शुरु हुने यमपञ्चक कार्तिक शुक्लपक्षको द्वितीयाका दिन पूर्ण हुन्छ । यिनै पाँच दिनलाई तिहार या यमपञ्चक भनिन्छ ।

यमपञ्चकको पहिलो दिन यमदीपदान गरी कागतिहार मनाइन्छ । कागलाई यमराजको सन्देशवाहक दूत मानिन्छ । गृहस्थहरुले यस दिन कागको सम्मान सत्कार गरी पर्खाल तथा कौसीमा हरियो दुुना टपरीमा सयपत्रीको फूल राखी खान दिई यमदूतको रुपमा पूजाआजा गर्छन् । नेवारी समुदायमा यस दिनलाई कोपूजा भन्ने चलन छ ।

काग अत्यन्तै चनाखो पक्षी हो । यसको चनाखोपनलाई प्रेरणा मान्दै गुरुहरुले शिष्यलाई काक चेष्टा बको ध्यानम्..भन्दै काग जस्तै चनाखो हुनुपर्छ भन्ने गर्छन् । कहीं फोहर भएमा वा कतै सिनु  भेटिए कागले थाहा पाइहाल्छ । यसैले गिद्ध चील लगायत अरु चरालाई खबर गर्छ । फोहर वा नरक हटाई शुद्धिको सन्देश दिने यो चराले कुनै शुभ वा अशुभ घटना घट्नु अघि फरक फरक स्वरमा कराई सकुन संकेत गर्छ भन्ने जनविश्वास छ । अति गर्मी हुने ठाउँदेखि अति चिसो हुने हिमाली खण्डमा समेत पाइने यो चरा समाजको साथी चरा हो ।

प्रतिकूल अवस्थामा हुर्कनसक्ने काग काठमाडौ जस्तो प्रदूशित नगरमा पनि बाँचिरहेको बढिरहेको छ । कागले अमृत चोरेर खाएको हुंदा यो अमर चरा हो भन्ने जनविश्वास छ । काग वनजंगलमा भन्दा मानववस्ती,चरीचरन खेतबारीमा डुल्ने पक्षी भएकाले यो समाजको संगाती चराजस्तो लाग्दछ । त्यसैले पनि यो चरा पूजित भएको हो । कागतिहारदेखि घरघरमा दीपमालिका गरी गाउँवस्ती झकीझकाउ पार्ने चलन छ ।
वैदिक कालमा भगवान विष्णुले बलि राजालाई कार्तिक कृष्णपक्षका अन्तिम पाँच दिन तीनै लोकको राज्यभोग गर्न पाउने वरदान दिएका थिए भन्ने शास्त्रीय कथन छ ।

यसको खुशियालीमा बलिराजाले राज्यभरि पाँचै दिन दीपमालिका गरी झकिझकाउ पारेका थिए । यसो गर्नाले धनकी अधिष्ठात्री देवी महालक्ष्मी प्रसन्न भई घरघरमा धनधान्यले भरिपूर्ण पारिदिन्छिन् भन्ने भगवान विष्णु वरदान रहेकाले सोही अनुसार धनदौलत आर्जनको क्षेत्रमा काम गर्नेहरुले तिहारका बेला महालक्ष्मीको निष्ठापूर्वक पूजाआजा गर्दछन् । यसै दिन आयुर्वेदका पिता मानिने आचार्य धन्वन्तरी उत्पन्न भएको मानिन्छ । आयुर्वेदका क्षेत्रमा सम्लग्न वैद्य कविराजहरुले धन्वन्तरी जन्मजयन्ती मनाउने गर्छन् । नेपालमा यस दिनलाई राष्ट्रिय आरोग्य दिवसको रुपमा मनाउने गरिन्छ ।

प्रतिकृया दिनुहोस्