Paschim News

प्रकाशित : २०७६/७/१२ गते

काठमाडौं । नेवार समुदायले आज (मंगलबार) नेपाल संवत् (नयाँ वर्ष ११४०) विविध कार्यक्रम गरी मनाउँदैछन् । नेपाल संवत् ११४० न्हुदँ राष्ट्रिय समारोह समितिले आज विशेष उत्सवका रुपमा मनाउन काठमाडौँको बसन्तपुरमा बृहत कार्यक्रमको आयोजना गरेको छ ।

उपत्यकाका नेवार समुदायका विभिन्न गुठी तथा सांस्कृतिक सङ्गठनको उपस्थिती रहने बताइएको छ । ठैंटीमा नाट्येश्वरको पूजा सम्पन्न गरी बिहान ७ बजे बसन्तपुरमा भेला भई सांस्कृतिक र्यालिमा आयोजना गरिने कार्यक्रम छ । आ–आफ्नो टोल शहरमा नयाँ वर्षको प्रचारका लागि दीप प्रज्वलन, सुकुन्दा र्याली, खेलकूद कार्यक्रम आयोजनासमेत गरिएको छ ।

यस्तै, टोलटोलबाट निकालिने सम्बन्धित भेषभूषाका झाँकीसहित सांस्कृतिक पहिचान झल्कने र्याली नगर परिक्रमापछि बसन्तपुरमा आएर मुख्य समारोहमा समायोजित हुनेछ । उक्त सभालाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरी शुभकामना दिने कार्यक्रम तय गरिएको समितिका अध्यक्ष रमेश महर्जनले जानकारी दिए ।

राष्ट्रिय विभूति शंखधर साख्वाले विसं ९३७ मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवतको सुरूवात गर्नुभएको इतिहासमा उल्लेख छ । नेपाल संवतले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवतको मान्यता पाएको विज्ञहरुको भनाई छ । नेपाल देशको नामबाट राखिएकाले यो मौलिक संवत् भएको जानकारहरु बताउँछन् ।

यस वर्ष तिथि–मिति घटबढ भएका कारण यही कात्तिक १३ गते नेवार समुदायलाई भाइटीका मनाउन सरकारले सार्वजनिक बिदा दिएको छ । यसैगरी काठ्माण्डौंका नेवार समुदायले आजै म्हः (आत्म) पूजा गरी मनाउँदैछन् । तिथीमा देखिएको घटबढको कारणले एकथरीले हिजो र बाँकीले मंगलबार मात्र म्हःपूजा गर्दैछन् ।

साधारणतयाः मध्यरातमा तिथिको परिवर्तन हुने गरेकोमा यो वर्ष दिउँसो तिथि फेरिएको छ । त्यसैले पनि बिहान एउटा र साँझ अर्को तिथि परेकोले एकथरीले हिजो पूजा गरे भने र अर्को थरीले आज म्हःपूजा गर्ने भएका हुन् । भक्तपुर, ललितपुर र उपत्यका बाहिरका अधिकांस नेवार समुदायले हिजै म्हःपूजा गरेका छन् भने बाँकी स्थानमा आज म्हःपूजा हुँदैछ ।

प्रतिकृया दिनुहोस्