काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले जनताको धार्मिक, सांस्कृतिक र सामाजिक मूल्यको सम्मान गर्न सरकार प्रतिवद्ध भएको बताउनुभएको छ ।
नेपाल संवत ११४० को अवसरमा शंखधर साख्वाः प्रतिष्ठानले मंगलबार भक्तपुरमा आयोजित कार्यक्रममा बोल्दै पोखरेलले यस्तो बताउनुभएको हो ।
‘सरकारले गुठीसम्बन्धी जनताको भावना कुण्ठित गर्छ कि भ्रम कसैलाई छ भने त्यो हटाउन अनुरोध गर्छ’, पोखरेलले भन्नुभयो, ‘जनताले आफू मिलेर गुठीद्धारा स्थापित गर्न चाहेका कुराको पक्षमा सरकार दृढतापूर्वक उभिन्छ, तर गुठीको नाममा जनतालाई जोताहा बनाउन दिने कुरा सरकारलाई स्वीकार्य छैन ।’
उपप्रधानमन्त्री पोखरेलले नेपाल संवतलाई जनताको संवतको रुपमा स्थापित गराउने चूनौतिलाई सामना गरेर अघि बढ्न अभियन्ताहरुलाई आग्रह गर्नुभयो ।
नेपाल संवत नेपालको पहिचानसँग जोडिएको उल्लेख गर्दै त्यसलाई स्थापित गराउन सरकारले सबै खालको सहयोग गर्ने पोखरेलको भनाइ छ ।