Paschim News

न्यूज क्लब संवाददाता प्रकाशित : २०७६/७/१४ गते

सरस्वती तामाङ
काठमाडौं । पर्वतारोही निर्मल पुर्जाले आठ हजार मिटरभन्दा अग्ला संसारका १४ हिमाल चढेर विश्व कीर्तिमान कायम गरेका छन् । चीनको तिब्बतमा अवस्थित सिसापाङ हिमालको चुचुरोमा पुगेसँगै पुर्जा ७ महिनामा विश्वका सबै आठ हजार मिटरभन्दा अग्ला हिमाल आरोहण गर्ने पहिलो पर्वतारोही बनेका छन् ।

म्याग्दीमा जन्मेका निर्मल पुर्जाले ७ महिनाको अवधिमा विश्वका १४ उच्च शिखरको आरोहण गरेर नयाँ रेकर्ड कायम गरेका हुन्। सोमबार उनले विश्वकै चौथो अग्लो सिसापङ (८,०२७ मि) हिमाल आरोहण गरे । चिनियाँ सरकारले सन् २०१९ सम्मलाई सिसापाङ हिमाल आरोहण रोके पनि विश्व रेकर्डका लागि गरिएको अनुरोधलाई स्वीकार गर्दै विशेष अनुमति दिइएको थियो ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाका पुर्जाले गत बैशाख १० गते अन्नपूर्ण गाउँपालिकाकै नारच्याङमा अवस्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालबाट आरोहण शुरू गरेका थिए । त्यसलगत्तै म्याग्दीमै रहेको सातौँ अग्लो हिमाल धवलागिरि (८,१६७ मि) को आरोहण गरेपछि थप हिमाल आरोहणमा निस्केका थिए ।

पुर्जाले धवलागिरी हिमालमा बिना अक्सिजन आरोहण गरेको बताइएको छ । उनले कन्चनजंघा, सगरमाथा, ल्होत्से मकालुलगायतका हिमाल लगातार आरोहण गरिसकेका छन् । नेपालका केही हिमालको आरोहणपछि उनले पाकिस्तान गएर नांगा पर्वत, गसेरब्रम फस्ट, गसेरब्रम सेकेन्ड, के टु र ब्रोड पिक आरोहण गरे । पुर्जा ले त्यसपछि नेपालका थप दुई चुचुरा चोयु र मनास्लुको पनि आरोहण गरेपछि तिब्बती हिमाल सिसापाङ आरोहण गर्न गएका हुन् ।

पुर्जाले आरोहण गरेका हिमालमा ८ नेपालका, ५ पाकिस्तानका र १ तिब्बतमा पर्छन्।  पछिल्लोपटक  भने उनले शिशापाङ हिमाल आरोहण गरेका हुन् ।

मासिक लाखाैं तलबकाे जागिर छोडेर आरोहणमा होमिएका पुर्जाको हिमाल आरोहणको अभियानलाई ‘प्रोजेक्ट पोसिबल’ परियोजना नाम दिइएको थियो । आरोहणको क्रममा विभिन्न हिमालमा अलपत्र परेका आरोहीलाई उद्धार गरेर पनि पुर्जाले संसारभरि चर्चा कमाएका छन् ।

३५ वर्षीय निर्मल ‘स्पेशल फोर्स’मा छानिने पहिलो गोर्खाली समेत हुन्। मार्च २०१९ मा ब्रिटिस आर्मीको जागिर छाडेर हिमाल आरोहण अभियान थालेका पुर्जाले आफ्नै जन्म जिल्लामा रहेको आठ हजार मिटर अग्लो धवलागिरी र अन्नपूर्ण आरोहण गर्ने पहिलो म्याग्देलीको उपाधिसमेत जितेका छन् ।

प्रतिकृया दिनुहोस्