Paschim News

प्रकाशित : २०७६/७/१६ गते

जनकपुर । मिथिलाञ्चललगायत तराई–मधेशमा आज हर्षोल्लासपूर्वक छठपर्व मनाइँदै छ । पारिवारिक सुख समृद्धिको कामना गर्दै अत्यन्त श्रद्धापूर्वक मनाइँने छठ पर्वमा आज अस्ताउँदो सूर्यलाई अर्घ दिइन्छ । छठ पर्वको आज मुख्य दिन हो ।

अस्ताउँदो सूर्यलाई अर्घ दिन जनकपुरको पोखरी घाटमा बिहानै देखि छठको पूजा सामग्री लिएर भक्तजनहरु पुगिसकेका छन् । यस्तै ग्रामीण भेगहरुमा आज दिउँसो र साँझ मात्रै पूजा सामग्री लिएर भक्तजनहरु घाटमा पुग्ने छन् । चार दिनसम्म मनाईने छठ पर्वको पहिलो दिन ब्रतालुहरु नुहाएर अरबा अरबाईन भोजन गर्ने गर्दछन् भने दोश्रो दिन साँझ प्रसादको रुपमा चामल, सक्खर र दुध मिलाएर बनाएको खीर ग्रहण गरी खरना गर्दछन् । त्यस्तै तेश्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ दिन तयार पारेको पूजा सामग्री घाटमा लगेर पूजा गर्ने गरिन्छ भने चौथाे दिन बिहान उदाउँदो सूर्यको अर्घ दिएपछि छठपर्वको विधिवत समापन हुन्छ ।

छठ पर्वमा बाँसको ढाकी, डग्री, माटोको कोसिया कुरबार, हातीलागयतको सामग्रीहरु चढाईन्छ । त्यस्तै प्रसादको रुपमा ठेकुवा, भुसुवा, केरा, खाजा, उखु, हल्दी, अदुवा एवं विविध प्रकारका मिठाई तथा फलपूmलहरु सूर्य देवता अर्थात दिनानाथलाई चढाउने गरिन्छ । अर्घ दिने व्रतालु ४८ घन्टासम्म पानी पनि नपिई उपबास बस्ने गर्दछन् । छठ पर्वमा सूर्य भगवान अर्थात् दिनानाथलाई अर्घ दिन तयार गरिने परिकारहरु अत्यन्तै नियम निष्ठापूर्वक गर्नुपर्ने भएकाले छठलाई निष्ठा र कठोर पर्वको रुपमा मानिन्छ ।

यतिबेला आदिदेव सूर्य भगवानलाई अर्घ दिन मिथिलाञ्चलको नदी, तलाउ, पोखरी, ईनार लगायतको जलाशयको किनारमा घाट बनाएर विशेष रुपले सृंगारिएको छ । खास गरी जनकपुरको धार्मिक तथा ऐतिहासिंक पोखरी तलाउ गंगासागर, धनुसागर, अंगराजसर, दशरथ तलाउलगायतको पोखरीलाई नवदुलहीझैँ सजाइएर झकिझकाउ बनाइएको छ । घाटहरुमा लगाईएको झिकमिके बलले रातिको समयमा झनै मनमोहक देखिन्छ । यस्तै मिथिलाञ्चलको गाउँघर, शहर बजार लगायत गल्लीमा गुञ्जिरहेको छठपर्वको नानाथरी सुमधुर गीत मिथिलाञ्चलको रौनकता नै बदलिएको छ ।

पोखरी, तलाउ र नदीको घाटमा छठ गर्नेहरु अस्ताउँदो सूर्यलाई अर्घ दिन लगेको पूजा सामग्रीसहित रातभर जाग्राम बसेर श्रद्धाभक्ति पूर्वक पूजाअर्चना गरी भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि मात्र पूजा सामग्री लिएर घर फर्कन्छन् । ग्रामीण भेगका कतिपय इनारमा घाट बनाएर छठपर्व गर्नेहरु साँझ पूजा सामग्री लगेर अस्ताउँदो सूर्यलाई अर्घ दिएपछि पुनः पूजा सामग्री घर ल्याउने गर्दछन् र बिहानपख सूर्य उदाउनु केहिबेर पूर्व पूजा सामग्री घाटमा लगेर अर्घ दिने गर्दछन् । उदाउँसो सूर्यलाई अर्घको रुपमा चढाइएको पूजा सामग्री एवं प्रसाद छठ घाटमा समेत वितरण गर्ने प्रचलन छ भने घरमा लगेर प्रसादको रुपमा सबैले ग्रहण गर्दछन् । छठ पर्व नहुनेहरुलाई छठ पर्व गर्नेहरुले निम्ता दिएर, बोलाएर खुवाउनुका साथै घरमा समेत पुर्‍याइदिने मिथिलाञ्चलमा प्रचलन छ ।

छठ पर्वमा विभिन्न स्थानमा सांस्कृतिक कार्यक्रमहरु पनि आयोजन हुने गर्दछ । छठ पर्वलाई समाजिक सद्भाव एवं एकताको पर्वको रुपमा पनि लिइन्छ । पहिले तराईका बासिन्दाले मात्र मनाउने छठपर्व हिजोआज पहाडका बासिन्दाले समेत मनाउन थालेका छन् ।

प्रतिकृया दिनुहोस्