Paschim News

न्यूज क्लब संवाददाता प्रकाशित : २०७६/९/१९ गते

काठमाडाैं । हिमपातका कारण शुक्रबार साँझदेखि अवरुद्ध भएको सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग १२ घण्टापछि सञ्चालन भएको छ ।

शुक्रबार दिउँसोदेखिको हिमपातका कारण राजमार्ग अवरुद्ध हुँदा डडेल्धुरा, बैतडी, बझाङ, दार्चुला, अछाम, बाजुरा र डोटीको यातायात सेवा पूर्णरूपमा ठप्प भएको थियो भने सयौँ यात्रु अलपत्रमा परेका थिए ।

सडक डिभिजन कार्यालयको डोजर, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको सहयोगमा राजमार्गका सडकमा रहेको हिउँ हटाइएपछि शनिबार बिहानदेखि यातायात सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले बताउनुभयो । त्यस्तै हिमपातका कारण अवरुद्ध भएको डडेल्धुरा, बैतडी जोड्ने दशरथ चन्द राजमार्ग पनि सञ्चालन भएको छ । हिमपातका कारण उक्त राजमार्गमा रोकिएका सवारी साधन तथा यात्रुहरु राजमार्ग सञ्चालन भएपछि अहिले आफ्नो गन्तव्यतिर लागेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलले जनाएको छ ।

बाक्लो हिमपातले क्षति गरेका कारण डोटीलगायत सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा नेपाल टेलिकमको सम्पूर्ण फोन तथा ल्याण्डलाइनको एडिएसएल सेवा अवरुद्ध भएको छ ।

प्रतिकृया दिनुहोस्