Paschim News

न्यूज क्लब संवाददाता प्रकाशित : २०७६/९/२२ गते

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच शान्ति प्रक्रियाका बाँकी कामलाई पूर्णता दिने विषयमा छलफल भएको छ ।

सभापति देउवासँग छलफलका लागि अध्यक्ष दाहाल र महासचिव विष्णुप्रसाद पौडेल सोमबार देउवा निवास बुढानीलकण्ठ पुग्नु भएको थियो । अवसरमा सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक छानविन आयोग गठनका विषयमा छलफल भएको बुझिएको छ ।

शान्ति प्रक्रियाका अरु काम पूरा भएपनि सत्य निरुपण तथा बेपत्ता नागरिकको खोजविका विषयमा ठोस उपलब्धि हुन सकेको छैन । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा संयोजकत्वको टोलीले आयोगमा रहने पदाधिकारी छनोटको प्रक्रिया जारी राखेको छ ।

अध्यक्ष दाहाल र सभापति देउवाबीच सत्य निरुपण र बेपत्ता नागरिक खोजबिन आयोगलाई छिट्टै पूर्णता दिने विषयमा कुराकानी भएको थियो । अध्यक्ष दाहालका प्रेस संयोजक विष्णु सापकोटाका अनुसार दुई शीर्ष नेताबीच समसामयिक राजनीतिक विषयमा समेत कुराकानी भएको छ । सभापति देउवासँगको भेटवार्ता लगत्तै अध्यक्ष दाहाल र प्रधानमन्त्री केपी ओलीबीच समेत छलफल भएको छ  ।

प्रतिकृया दिनुहोस्