काठमाडौं । मुलुकमा मंगलबारदेखि फेरि वर्षा र हिमपात हुने भएको छ । आइतबारदेखि सुधार आएको मौसम मंगलबार बेलुकाबाट फेरि प्रभावित हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
नेपालको पश्चिमी भूभाग हुँदै प्रवेश गरेको पश्चिमी वायुको प्रभावको प्रभाव मंगलबारदेखि फेरि परेको छ । मुलुकको अधिकांश भूभागमा आंशिकदेखि पूर्ण बदली रही देशको उच्च पहाडी र हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात तथा पश्चिमी पहाडी भूभागमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले बताउनुभयो ।
उहाँका अनुसार नेपाल प्रवेश गरेको पश्चिमी वायुको प्रभाव क्रमशः बढ्दै गएकाले बुधबार र बिहीबार देशभर आंशिकदेखि पूर्ण बदली रही काठमाडौँ उपत्यकासहित देशको अधिकांश भूभागमा हल्का वर्षाका साथै उच्च पहाडी र हिमाली भूभागमा हिमपातको सम्भावना छ ।
‘आज काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा एकछिन घाम लाग्ने र एकछिन बदली हुने भइरहेको छ’, उहाँले भन्नुभयो । पश्चिमी वायुका प्रभाव आगामी शनिबारसम्म कायम रहने बताइएको छ ।
राति देशको पश्चिमी भूभागका साथै मध्य र पूर्वका पहाडी भूभागमा सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात हुनाका साथै मध्य र पूर्वी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
भोलि देशभर सामान्य बदली रही पश्चिमका केही स्थानमा र मध्य तथा पूर्वका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रही देशको उच्च पहाडी र हिमाली भूभागका केही स्थानमा मध्यमदेखि भारी हिमपातको सम्भावना रहेको जनाएको छ । बिहीबार देशभर आंशिकदेखि सामान्य बदली रही देशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा मध्यमदेखि भारी हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाको पछिल्लो विवरणअनुसार मंगलबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम चार दशमलव दुई डिग्री र अधिकतम तापक्रम १६ दशमलव तीन डिग्री सेल्सियस छ । मंगलबार सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम शून्य दशमलव तीन डिग्री सेल्सियस छ ।