नेपालको संविधान भाग १ धारा ८ मा चन्द्रसूर्ययुक्त द्वित्रिकोणात्मक राष्ट्रिय झण्डाको व्यवस्था गरिएको छ । यसको निर्माण विधि अनुसूची १ मा राखिएको छ ।
यो झण्डा नेपाली जनताको एकताको प्रतीक । देशका हरेकले मेरो भन्ने एउटै राष्ट्रियमाध्यम । प्रत्येक नेपालीले गौरव गर्ने एउटै साझा चिन्ह । नेपाली जनताको इतिहास, स्वाभिमान, सार्वभौमिकता, स्वतन्त्रता, अपनत्व, एकताको सर्वसम्मत संकेत । यसप्रति सबै नेपालीकोे समान सम्मानभाव छ । हामीमा विश्वकै विशेष निधि छ भन्ने अहम् गर्वबाेध छ ।
यो झण्डाको आकार रंङ, चिन्ह, शोभा विश्वमै विशिष्ट छ । यसको उपस्थिति संसारमै अद्वितिय छ । परापूर्वबाट प्राप्त भएको नेपाली निशानी । हाम्रा पूर्वजको सिर्जना । हर सन्तानको निधि । यो सनातनबाट आएको आर्जन । जनताको साझा र नैसर्गिक निशानी ।
यो वैदिक देन हो । यसको बनौटमा गतिशीलता देखिन्छ । वेग बुझिन्छ । र तेज झल्किन्छ । यो त ओंमकारको आकृतिजस्तो,गौरीशंकर पर्वतको चुली जस्तो ।
हामीमा सनातनबाट आएको समयातीत संकेत छ । अनन्तबाट आएको यस्तो सिर्जना अरुसँग कहाँ ?
नेपाली राष्ट्रिय झण्डामा दुई पताका छन् । तर यिनमा विखण्ड छैन । अखण्ड गाँस छ । दृष्यमा दुई त्रिकोण छन् । तर यिनमा द्वन्द्व छैन । संयोग छ । दुनियाँ दुईमा द्वन्द्व देख्छ तर हैमसभ्यता निर्वन्द्व देख्छ । प्रेम देख्छ । सम्मिलन देख्छ ।
नेपाली झण्डाको माथिल्लो त्रिकोणमा आठ वटा कोणको खुर्पेचन्द्रमा राखिएको छ । तल्लो त्रिकोणमा बाह्र वटा कोणयुक्त सूर्यको आकृति रहेको छ । विश्वका अन्य झण्डामा आकाशीय प्रतीक त हुन्छन्, तारा पनि हुन्छन्, सूर्य पनि हुन्छन्, चन्द्रमा पनि हुन्छन् तर नेपाली झण्डामाझैं चन्द्रमा र सूर्य एउटै झण्डामा राखिएको भेटिंदैन । त्यसमा पनि संकेतका कोण कोणको सूक्ष्मनिर्माण अन्त कहाँ ?
विश्वप्रमाण वेदले पनि यसको प्रशंसा गर्दै नवो नवो भवति जायमान…चन्द्रमा स्तिरते दीर्घमायु भनेर राष्ट्रध्वजका दुई तत्व चन्द्रमा र सूर्यमध्ये दिनहरुका केतु सूर्यले नयाँनयाँ भएर जगत्लाई जगाउने जनाइएको छ भने चन्द्रमाले आरोग्य र दीर्घायु दिने बताइएको छ ।
दुनियाँ आकाशीय पिण्डको अवस्थिति अनुसार सूर्य माथि र चन्द्रमा तल हुनुपर्ने तर्क गर्छ । तर यो भौतिक अवस्थाको बिम्ब होइन । यो त यहाँको मानवीय प्रकृतिको प्रतिबिम्ब हो । हिमाली देशका मानिसको माथमा हिम शिखरको शीतलता भएझैं शीर्षमा शान्ति हुन्छ । यो हैमजाति शान्तमतिले काम गर्छ । जसले गर्दा चन्द्रदेन अनुसार कलाको सिर्जना हुन्छ । शान्त कार्यकुशलताबाट शोभाको सृष्टि हुन्छ । आरोग्य प्राप्त हुन्छ । सुन्दरता छाउँछ । नैपाली भूमिको माथिल्लो हिमाली भागमा शीतलता छ तल्लो तटीय भेगमा न्यानोपन छ । चन्द्रमा शीतलताका स्रोत हुन् र सूर्य तापका । यो प्रकृति नेपाली झण्डामा प्रतिबिम्बित छ ।
त्यसैगरी नेपालीको उदरमा ऊर्जा हुन्छ । वक्षमा सौर्यशक्ति हुन्छ । साहस हुन्छ । तेज हुन्छ । अचुक लक्ष्यताक हुन्छ । जसले गर्दा नेपालीजाति वीर छन् । स्थिर छन् । धीर छन् । यो सौर्यदेन हो । यिनै गुणको प्राकट्य नै चन्द्रसूर्यको आकृति हो ।
झण्डाका चन्द्रसूर्यको दुई पंख फैलाई आकाशबाट विहंगम दृष्टिले देश देख्नु र दुनियाँ विचरण गर्नु यसको सार्थकता हो । यो त चरीको पंखपखेटाजस्तो चिन्ह हो । विश्वविहारी आँखा हो । यो त चेतनाको हंसवत उडान हो । यो त पर्वतभन्दा उन्नत छ । विश्वको हर उन्नतिभन्दा माथि छ । परापूर्वको यो अपूर्व आविष्कार ।
आधुनिक नेपालका निर्माता राजा पृथ्वीनारायणा शाहले यही पताका फहराएर विभक्त नेपाललाई संयुक्त बनाए । यही झण्डा हेरेर देशवासी आपसमा एकजुट भए । फिरन्तेहरुको देश दाउ विफल बनाए । यो झण्डा जनताको झञ्झा, दरबार वा दलको झण्डाभन्दा माथि सर्वजनको एकतासूत्र । देश र देशवासीको नाता द्योतन गर्ने पताका ।
अन्वेषक योगी नरहरिनाथले यसलाई हिमाली पर्वतीय चुचुराको प्रतीक भने । कैलाशकानन । हिमशैलको आकृति । वैदिक यज्ञका उर्ध्वाध्वनि भर्भर लप्का भने । हिमाल पहाड तराई जोड्ने राष्ट्रध्वज भने । वीरताको वेग भने ।
राष्ट्रकविले यसलाई नेपाली चुली सभ्यताको चैतन्यबाट प्राप्त ज्योतिको पंख भने । महाकवि लक्ष्मीप्रसाद देवकोटाले यसलाई वीरताको प्रतीक भने । झञ्झावीर कवितामा उनले यही झण्डाको ऊर्जागीत गाएका छन् ।
जा मान्छे तँ बन वजनदार
थर्का पृथिवी चर्का
मृत्युको जुंगा उखेल तर
रोईरोई गन्धेझार नउखेल ।
आधुनिककवि गोपालप्रसाद रिमालले यसलाई नेपालीजातिको जंगीनिशान भने । नेपालीको जीउँदो रगतबाट सिर्जिएको यथा प्रतिबिम्ब ।
राष्ट्रध्वजको छत्रमुन्तिर बस्दा उच्च गौरव अनूभूति हुने दर्शाउँदै भनिएको छ ।
सक्छौ जागिर नखाऊ सक्तैनौ जागिर खाऊ
झण्डामुनि बस तर दरबार नपस ।
नेपाली राष्ट्रिय गीत गायनका गायकहरुले यो झण्डा नालापानी, जैथक, सिन्धुली, विजयपुरमा पराइसँग लडेर स्वदेश जगाउँदै थियो, जोगाउँदै थियो विजयगाथा सुनाउँदै थियो भन्ने संगीत सुनाउँछन् ।
लेखक दयाराम श्रेष्ठले नेपाली राष्ट्रिय झण्डाको बनौट विश्वका अन्य झण्डाको तुलनामा बेग्लै र विशिष्ट रहेको भन्दै यो दुनियामा नै अव्दितीय रहेको उल्लेख गरेका छन् ।
नेपाली राष्ट्रिय झण्डाकै प्रेरणाले देशका खेलाडीहरुले खेल मैदानमा जितको तागत पाउँदैछन् । राष्ट्रिय समारोहमा यही सुहाएको छ । परराष्ट्रमा पनि यसैले नेपाल र नेपालीलाई चिनाएको छ । राष्ट्रउष्मा जगाएको छ ।
यो झण्डा नेपाल राष्ट्रको सृष्टिसँगै अस्तित्वमा आएको आर्जन हो । सर्वप्राचीन अभिलेख चार वेदमध्ये अथर्ववेदको परिशिष्टमा नेपाल राष्ट्रको नामोल्लेख पाइन्छ । नेपाल राष्ट्रको अभ्युदयसँगै यो नेपालीजातिको सभ्यताशानको निशान भएर रहेको छ ।
इतिहासकार ज्ञानमणि नेपालले नेपाल निरुक्तमा यो झण्डा युगौंदेखि नेपाल र नेपालीको परिचयपताका भएर आएको उल्लेख गरेका छन् । तर यसका सर्जक को हुन् ? एकिन रुपमा आएको छैन । यो त सनातनबाट आएको नेपाली निधि । सनातनी शास्त्रका सर्जकहरुले अनेकौं मन्त्र र सुक्ति दिएर सर्वहित चिताएझैं यो झण्डा हाम्रा पुर्खाले हामीलाई सुम्पेको उपहार । अविनाशी नासो ।
यो झण्डा धेरै पहिलेदेखि प्रचलनमा रहेको प्रसंग पाइन्छ । पुराना पुराना मठमन्दिरका व्दारमा यही झण्डा ठड्याइएको देखिन्छ । देशका विभिन्न प्राचीन मन्दिरहरुमा चन्द्रसूर्ययुक्त झण्डाकै अलंकार रहेकाले यो सनातन धर्मसंस्कृतिको केतु हो भन्ने प्रष्ट हुन्छ । मुलुककै प्राचीन स्थापत्य मानिने स्वयम्भूनाथको आमुखमा यहीं झण्डा राखिएको छ ।
भक्तपुर तथा टोखा जस्ता प्राचीन नगरमा आज पनि झण्डोत्तलनको पर्व प्रचलित छ । विश्वकेतु वा बिस्केटजात्रा मनाएर नवीन झण्डा फहराई नयाँ वर्ष मनाउने परम्परा छ । हरपटको सम्मान गर्ने संस्कार छ । काँचो वस्त्रमा चन्द्रसूर्यलगायतका ग्रहादिको चित्र बनाई लिंगामा पहराई ध्वजपूजा गर्ने परम्परा आज पनि घरघरमा चलेकै छ ।
बौद्धसंस्कृतिमा घर विहार गुम्बामा नवीन ध्वजा तोरण राखी पूजा गर्ने प्रचलन छ । नेपालको ऐतिहासिक सुरक्षासंगठन नेपाली सेनाले नेपाली राष्ट्रिय ध्वजाका साथै आफ्ना गणविशेषका झण्डा राखी निशानपूजा गर्दै आएको छ ।
देश दुनियामा झण्डा फहराउने चलन अन्त पनि छ तर पुज्ने प्रचलन अन्त कहाँ ? ध्वजामा आकाशीय शक्तिको अवतरण देख्ने आँखा कहाँ । यो त हिमालबाट विश्व हेर्ने विलोचन हो । ध्वजापूजाको संस्कृतिमा नेपालीजाति संसारमै अग्रणी छ ।
क्रान्तदर्शी कवि गोपालप्रसाद रिमालले साम्राज्य दुई हारे हारेन शान हाम्रो भनेर यो झण्डा कुने प्रहारले पराजित नभएको उल्लेख गरेका छन् । कतिका झण्डा कहिले मुगल साम्राज्यको प्रहारले झुके । कहिले अंग्रजी साम्राज्यवादी बलले कतिका राष्ट्रिय झण्डा झण्डा ढले । तर नेपाली राष्ट्रध्वज उत्पत्तिदेखि आजसम्म ठाडै छ । सीधै छ । र अच्यूत छ । यो हाम्रो अस्मिता र अस्तित्वको अटल धरोहर ।
देशभित्रै यसलाई हटाउने, फेर्ने, नमान्ने आवाज नआएको होइन । तर जनताको हृदयमा जरा गाडेको झण्डा जनमनबाट हटाउने को ? युगयुगदेखिको आफ्नो विश्वनिशानी छोडेर नेपाली नागरिक कसरी रित्तो रहनसक्थ्यो र ? परिचयको पर्याय छाडेर नेपाली जाति उभिने कसरी ?
फेरि यो झण्डा मात्र चिनो होइन यो त शक्तिको पुञ्ज हो । शक्तिको स्रोत हो र शक्तिसंस्कारित सभ्यताको संकेत हो । यसको विपक्षमा उभिनेहरु कहिल्यै विजयी भएका छैनन् । आफूलाई विश्वमै बलशाली भन्ने विदेशीले यसका विरुद्ध धावा बोले तर ती पराजित भए । देशमा बसेर यो झण्डाविरुद्ध तिनै विदेशीका वाक्य बोल्नेहरु टिक्ने कसरी ? विश्वमा यसको कुनै विकल्प हुँदैन । विश्वनिधिको विकल्प कुनै बुद्धिले दिनैसक्तैन । दोस्रो स्वयम्भू कसैले स्वीकार्दैन ।
नेपाली चाडपर्व, राष्ट्रिय उत्सव, अन्तर्रािष्ट्रय प्रतियोगिता विदेशस्थित कूटनीतिक निकाय विश्वसम्मेलन र सभामा नेपाल चिनाउने माध्यम । नेपाली प्रतिनिधि मण्डलको व्यक्तित्व बलिष्ठ बनाउने, आत्मविश्वास उठाउने आत्मगौरवको भर कहाँ धरमराउँथ्यो र यो त झन समर विजयी भएर उभिएको छ । सगरमाथा आरोहण जस्ता विश्व कीर्तिमा यही झण्डा उभिन्छ ।
नेपाली राष्ट्रध्वजको संरचना सामान्य होइन । यो त अध्यात्म र प्रकृतिको संयोजन हो । यो झण्डामा रहेको पृष्ठमा राखिएको झुल्केघामको प्रकाशजस्तो गाढा रातो रङले प्रकृतिको शक्ति झल्काउँछ । सदा उदय र विजयको संकेत गर्छ । श्रीवृद्धिको अर्थ दिन्छ । स्वास्थ्य र दीर्घायु प्रष्टयाउँछ । उर्वरा र अजेयी तेजको लावण्य बुझाउँछ । सौभाग्यशाली संस्कृतिको विशारद ब्यूझाउँछ । यो तेजस्वी प्राण यसमा छ र नै त यो सदासदा उभिइरहेको छ । उन्नत भइरहेको छ ।
फेरि यसमा रहेको नीलो रंङ आकाशको अलंकार,गम्भीर समुद्रको प्रकटीकरण, ज्ञान गरिमाले घनीभूत भएका सदाशिवको शरीरजस्तो श्रीकृष्णको घनश्याम आभा जस्तो,बुद्धजनको वदनजस्तो धीरपुरुषको संयम र स्थीरताजस्तो । गहिरो सरोवरको शान्त मुहार जस्तो । शक्तिको शान्त रुप । रातो तातो शक्तिलाई शान्त पार्ने नीलो रङको सीमा नै हाम्रो संयम । नेपालीत्वको गर्भमा शक्ति छ तर त्यसलाई चेतनाले संरक्षित गरेको छ । हाम्रो शक्ति शान्तिका लागि हो । नेपाली जनमनको ऊर्जाले शान्तिको सीमा नाघ्दैन । हाम्रो वीरताले कसैको विनाश गर्दैन , सबैको रक्षा गर्छ । गाई सरी छन् साधु जा ेजो यहाँ मुलुकमा सबको शरण बलियो जंगी निशान हाम्रो ..रिमाल ।
चन्द्रसूर्यमा कसको विमति ? विश्वमा चन्द्रपूजक पनि छन् । सूर्यपूजक पनि छन् । यहाँ त सूर्यौपासनाको पर्व छठ मनाइन्छ । जापान सूर्यसम्मानमा रमाउँछ । सूर्यअंकित ध्वजा उचाल्छ । इस्लाम समाज चन्द्रपूजामा प्रवृत छ । बुद्धका हरेक महान् कर्म पूर्णचन्द्रको घडमिा भएको छ । सनातन संस्कृतिका भगवान शिवको शिरमा चन्द्रमा धारण गरेर चन्द्रभाल बनेका छन् । यहुदी पनि सूर्य प्रार्थना गर्छन् । चन्द्रसूर्य कसका होइनन् र ?सबैका समान संकेत । नभका पिण्ड चन्द्रसूर्यमा केको विवाद ,सगरस्रोत र दिशाबोध गराउने साझा वस्तु ।
राष्ट्रियशोकमा मात्र आधा झुक्ने हाम्रो राष्ट्रियझण्डा सजावटको फूलबट्टा बन्नु हुँदैन । यसलाई निजी सर्जाम जस्तो बनाउनुमा शोभा छैन । यसलाई त सम्मानकै संहिताले सञ्चालन गर्नुछ । राष्ट्रको शिरशान बनेको राष्ट्रध्वज प्रयोगको नियम बनाई कार्यान्वयन गर्नुपर्छ । यसलाई सस्तो सामग्री बुझ्नुहुँदैन । यो मात्र वस्त्र होइन । यो थोत्रो भएको पनि सुहाउँदैन । यो राष्ट्रिय शक्तिको तेजिलो प्राकट्य । यो त राष्ट्रिय सुरक्षाको कवच । हरेक नेपाली राष्ट्रिय आश्रय । मष्तकको मन्दिर । यसलाई त पुजाको फूलझैं पवित्र राख्नुछ । यो त जनऊर्जाको भर्भराउँदो अग्नि । सूर्यसँग सौर्य सम्बन्ध राख्ने ज्वालावत् केतु ।
यसलाई बर्को बनाएर ओड्ने, मोटरसाइकलमा हुइकाउने,मोटरगाडीको भित्तामा लतरपतर पारेर पोत्ने लहर्याउने , यसको संरचना र स्वरपलाई भाँचेर बटारेर सवारी साधन विमान, संस्थाको संकेत बनाउन,े जसरी पनि कोर्ने जोर्ने हो भने संविधानले यसको निर्माणविधि किन निर्धारण गर्नुपर्यो र ?
यो जहाँ देखिन्छ त्यहाँ राष्ट्रिय उपस्थिति हुन्छ । राज्यनिकायलाई यसैले चिनाउँछ । देशत्वको बीज । युद्ध होस वा शान्तिसन्देशको जनलहर यसैले नेपाली शिर चिनाउँछ । नेपाली परिचयको सर्वोच्च प्रतीक ।
यससँग हाम्रो सार्वभौमसक्ता,स्वतन्त्रता,सम्पन्नता,सभ्यता,एकता र शीर्षस्थानको सम्बन्ध छ । सर्वाधिक उच्च संकेतको सदुपयोग गर्नु सबैकोदायित्व हो । सम्माननीय वस्तुको सम्मान आदरकदर नगर्ने समाज उत्कृष्ट रहन सक्दैन उसको आदर्श रहँदैन । त्यसको भावी उन्नति पनि हुँदैन । प्रतिष्ठा गर्ने शैली नै प्रगतिको पाइला हो । यो राष्ट्रिय प्रतीक नेपाली व्यक्तित्वको जीवन्त बिम्ब हो । यसमा हाम्रा पुर्खाले रगत पसिना सिंचेर प्राणप्रतिष्ठा गरेका छन् । यसलाई बतासले हल्लाउँदा पुर्खाप्राणको आभास हुन्छ । यो राष्ट्रध्वज अमर र जीवन्त रहेको देखाउँछ ।
फेरिे यो समान्य प्रतीक मात्र पनि होइन । यसले त हिमाली देशको मात्र होइन नेपालको मात्र पनि होइन, खगोलको समेत जानकारी दिन्छ । ज्योतिषको प्रभाव बोल्छ । व्योमदेखि विश्वलाई जोड्छ । यसमा संकीर्णताको कुनो छैन । सर्वसार र सर्वदृष्टिको उचाइ छ । यसले कसैलाई छोड्दैन सबैलाई छुन्छ र जोड्छ । समेट्छ । यसले विशाल अर्थ र गरिमा दिएर नेपाल र नेपालीलाई विश्वमानव बन्न उत्साह दिन्छ । सारा नेपालीलाई गौरवान्वित बनाउने, हिमालमाथि उभ्याउने यो चन्द्रसूर्य झण्डामा नेपालकिो शान छ, प्रतिष्ठा छ,पुर्खाप्रतिको अहोभाव छ ।
यो प्रतीकको प्राप्तिमा हामी गौरव गर्छों यसैलाई हेरेर हिमचुलीझैं उच्च हुने प्रण गर्छौं प्रत्येक शुभपलमा यसकै महिमागान गरिरहन्छौं । यसकै छायाँमा बसेर एकताबद्ध भइरहन्छौं । राष्ट्रको बल अझ प्रबल बनाउँछौं । राष्ट्रियताको रङ जगाइरहन्छौं यो झण्डा फर्फराइरहेको देखेर हामी यसकै फेदमा गोलबन्द हुन्छौं । उठिरहन्छौं उभिइरहन्छौं । शिरशान बचाइरहन्छौं । यसको उपस्थितिसँगै छातीमा हात राखेर नेपालकोगौरवगाथा गाइरहन्छौं । मेरो देश महान् भनिरहन्छौं ।
गोर्खा सैनिक कोटमा कटकमा कैलाशका कुटमा
गंगाका तटमा हिमाल मुकुटमा राष्ट्रध्वजा भोटमा
हल्ली हल्ली बतासले विजयका बाजासितै तालमा
लम्क्यो लम्किरहोस् सदा अटल यो शार्दूलका चालमा ।।
-योगी नरहरिनाथ