Paschim News

न्यूज क्लब संवाददाता प्रकाशित : २०७६/९/२८ गते

बेलायत । राजपरिवारको जिम्मेबारी त्यागेर स्वतन्त्र जीवनयापन निर्णय गरेका बेलायती राजकुमार ह्यारी दम्पतीलाई पुनः राजपरिवारको जिम्मेबारीमा फर्काउने प्रयास भएको छ । महारानी एलिजावेथसहित राजपरिवारका अन्य सदस्यहरु सम्मिलित बैठकमा उनीहरुलाई जिम्मेवारीमा फर्काउन सामूहिक छलफल भएको समाचारमा जनाइएको छ ।

राजकुमार ह्यारी र उहाँकी पत्नी मेगनले राजपरिवारको जिम्मेवारी त्यागेर आर्थिक रुपमा आत्मनिर्भर हुन आफ्नै तरिकाले काम गर्ने घोषणा गरेको विषयमा राजपरिवारका सबै सदस्यबीच छलफल केन्द्रित भएको बेलायती समाचार संस्था बीबीसीले जनाएको छ ।

बैठकमा सहभागीहरुले राजपरिवारको जिम्मेवारी त्याग्ने घोषणा फिर्ता लिएर पुनः पहिलेकै अवस्थामा फर्किन आग्रह गरेका थिए ।

ह्यारीका पिता तथा युवराज चाल्स र उहाँका भाई विलियमलगायतले पनि ह्यारी दम्पतिलाई राजपरिवारको जिम्मेवारीमा फर्किन आग्रह गर्नुभएको बेलायती सञ्चार माध्यममा उल्लेख छ ।

मेगन पनि बैठकमा सहभागी हुने अपेक्षा गरिएको थियो । उहाँलाई क्यानाडाबाटै बैठकमा सहभागीताका लागि आउन आग्रह गरिएको थियो । व्यक्तिगत जीवनका लागि उनीहरुले फेरी ‘अर्को कदम’ चाल्न सक्ने आशंका गरिएको छ ।

राजकुमार ह्यारी र मेगनले राजपरिवारका कुनैपनि सदस्यसँग परामर्श नगरी गरिएको ह्यारी र मेगनले गरेको यस्तो व्यक्तिगत घोषणाका कारण बेलायती राजपरिवारमा खैलाबैला मच्चिएको छ ।

प्रतिकृया दिनुहोस्