Paschim News

न्यूज क्लब संवाददाता प्रकाशित : २०७६/९/२९ गते

मकवानपुर । मनहरी गाउँपालिका देशको पहिलो बालमैत्री घोषणा भएको छ । उपप्रधान तथा रक्षामन्त्री इश्वर पोख्रेलले मनहरी नेपालमै स्थानीय शासन अवलम्वन गर्ने पहिलो बालमैत्री गाउँपालिका भएको घोषणा गर्नुभयो । देशभरका ४ सय ६० गाउँ पालिका मध्ये पहिलो बालमैत्री बनेकोमा मनहरी गाउँपालिकाबाट अरु स्थानीय तहले पनि सिकाइ हासिल गर्नसक्ने बताउनुभयो ।

उपाप्रधानमन्त्री पोखरेलले देशमै पहिलो बालमैत्री बनेकोमा बधाई दिदै घोषणा अनुसार कार्यमा निरन्तर लागिपर्न आग्रह गर्नुभयोे । अहिले घोषणाको शुभकामना दिइरहदा यसलाई यो घोषणा मात्र नहोस् भन्दै उहाँले बालमैत्री सूचकको निरन्तर निगरानी राख्न समेत आग्रह गर्नुभयो । बालमैत्री सूचकहरुभित्र बाल बचाउ, बाल संरक्षण, बाल विकास र सार्थक बाल सहभागिता महत्वपूर्ण कुरा भएकोले गाउँपालिकाका सबै पक्षहरुले यसलाई ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

घोषणासभामा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बालमैत्री घोषणा गर्नुमात्र ठूलो नभएकाले स्थानीय सरकारले हरेक रूपमा बालबालिकाको हितमा लागिपर्नुपर्ने बताउनुभयो । गाउँपालिका हरेक कुरा बालमैत्री हुनुपर्छ भन्दै मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले बालमैत्री कार्यका लागि स्थानीय तहलाइ आवश्यक बजेट विनियोजन गरेको बताउनुभयो । यस्तै प्रदेश सरकारले पनि आगामी २०७८ सम्म बालबिवाहमुक्त प्रदेश बनाउने र २०८० सम्म बागमती प्रदेशलाई बालमैत्री प्रदेश बनाउने तयारीमा अघि बढेको बताउनुभयो ।

बालमैत्री पालिका घोषणाका लागि गाउँपालिकाले ९ वटै वडामा बाल सञ्जाल, बालमैत्री शाखा बनाएर अभियानलाई अघि बढाएको छ । पालिकाले बालबालिकामैत्री वातावरण निर्माणको लागि ७८ वटा बाल समूह गठन गरेको छ । अभियानको क्रममा गाउँपालिकाले २०७५ मङ्सिरदेखि ०७६ पुसको २० गतेसम्म १२ वटा बालविवाह रोकेको, एकसय ९४ जना बालबालिकालाई निकृष्ट बालश्रमबाट उद्वार गरेको थियो ।

कूल ४६ हजार आठसय ५३ जनसङ्ख्या रहेको मनहरीमा १५ हजार सातसय ३९ जना बालबालिका छन् । गाउँपालिकामा २०७० देखि २०७५ सम्मको अवधिमा एकहजार दुइसय १६ जनाले बालविवाह गरेका थिए । गाउँपालिकाको वडा ३, ४ र ६ मा बालविवाहबाट बढी प्रभावित छन् । प्रभावित वडाहरुमा घरदैलो कार्यक्रम गरेर जनचेतना जगाउने र गाउँपालिकामा वडा तहमा बाल क्लब गठन गरी सक्रिय बनाउने काम गरेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका अध्यक्ष एकराज उप्रेतीको अध्यक्षतामा भएको घोषणासभामा अर्थ समितिका सभापति कृष्णप्रसाद दाहाल, संघीय सांसद विरोध खतिवडा, प्रदेश सांसद मुनु सिग्देल, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, उपप्रमुख भगवती पुडासैनी, भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामा, कैलाश गाउँपालिका अध्यक्ष टंक मोक्तान लगायतको उपस्थिति रहेकाे थियो ।

प्रतिकृया दिनुहोस्