Paschim News

न्यूज क्लब संवाददाता प्रकाशित : २०७६/१०/१ गते

रुपन्देही । गौतम बुद्धको जीवनीबारे स्वदेशी तथा विदेशी पर्यटकलाई जानकारी दिन लुम्बिनीमा रोबोटिक थिएटर संचालनको तयारीमा छ  । रोबोट मार्फत बुद्धको जीवनी देखाउन पाँच करोडको लागतमा लुम्बिनीमा यस्तो थियटर निर्माण भइरहेको छ । माघको दोस्रो साता भित्र सञ्चालनमा ल्याएर थिएटरबाट बुद्धको जीवनी देखाउने तयारी छ ।

बुद्धग्राम प्रालिले करिब पाँच करोडको लगानीमा रोबोटिक थियटर सञ्चालनमा ल्याउँदै छ । रोबोटमार्फत बुद्धको जीवनी देखाउन निर्माण भइरहेको थिएटरको काम ९८ प्रतिशत सम्पन्न भएको छ  । करिव २ वर्ष समय लगाएर निर्माण भएको मायादेवी मन्दिर प्रवेश गर्ने मूलद्वार सामुन्ने रहेको थियटरमा नाटकमार्फत बुद्धको जीवनी देखाइने जानकारी बुद्धग्राम प्रालिका सञ्चालक पुरुषोत्तम अर्यालले जनाकारी दिनुभयो ।  ।

अर्यालका अनुसार थियटरमा बुद्धकालीन कथालाई झल्काउने गरी ८ वटा कोठा निर्माण भएको छ । प्रत्येक कोठमा बुद्धको जीवनकालका विभिन्न चरण गरी ८ वटा चरणमा बुद्धको जीवनी रोबोटमार्फत देखाइनेछ ।

शुरुमा नेपाली, हिन्दी र अंग्रेजी गरी तीन भाषामा नाटक देखाइनेछ । ८ वटा कोठा रहने हलको पहिलो कोठामा बुद्ध को हुन् ? कसरी बुद्ध भए भन्ने विषय देखाइनेछ । दोस्रोमा बुद्धको जन्म, तेस्रो कोठामा बुद्ध र देवदत्तको विवाद देखाइनेछ । चौथोमा बुद्धले देखेको पीडा (वृद्ध, रोग, मृत्यु र शोक) देखाइनेछ । पाँचौँ कोठामा दरबार छोडेर नदीमा कपाल खौरेको कथा, छैटौँमा बुद्धले बुद्धत्व प्राप्त गरेको कथा सातौँमा ऋषिहरूलाई ज्ञान प्रवचन र आठौँमा मृत्युबारे देखाइनेछ ।

 

नाटक देखाउन प्रयोग हुने रोबोट तथा थिएटर काठमाडौंमा रहेको पिरामिड फेन्टासियका इन्जिनियर तथा प्राविधिकहरु लुम्बिनी आएर निर्माण गरेका हुन् । आठ कोठामा एक घन्टा बुद्धको जीवनी देखाउने गरी तयारी भइरहेको छ । प्रत्येक कोठामा ३५ जनाको क्षमता छ । एकपटकमा २८० जनाले जीवनी हेर्न सक्नेछन् । बुद्धकालीन समयमा भएको संरचना अनुसार थिएटर निर्माण भएको छ जसमा नाटक प्रस्तुत हुनेछ । रोबोटले नाटक देखाउने र साउन्डमार्फत कथा वाचन गरेर दर्शकलाई बुद्धको जीवनी बताइने छ ।

थिएटरमा स्वदेशी र विदेशी पर्यटकलाई छुट्टाछुट्टै शुल्को व्यवस्था हुँदै छ । स्वदेशीका लागि २७५ रुपैयाँ र विदेशीका लागि ५०० रुपैयाँ कायम गर्ने तयारी छ । विद्यार्थी, बृद्ध र स्थानीयलाई ३३ प्रतिशत छुट दिएर हेर्न मिल्ने व्यवस्था गर्ने सञ्चालकको भनाइ छ । हल बाहिर १८ बटा सटर छन् । त्यहाँ आर्ट ग्यालरी, बुद्धकालप्न खाना, माला, सोभिनियर पसल, जुसलगायत बुद्धकालमा प्रयोग हुने सामग्री राखिनेछ ।

प्रतिकृया दिनुहोस्