Paschim News

न्यूज क्लब संवाददाता प्रकाशित : २०७६/१०/५ गते

मकवानपुर । बागमती सरकारले प्रदेशको राजधानी हेटौँडाबाट धुलिखेलसम्म विद्युतीय बस सञ्चालन गर्ने तयारी थालेको छ । २०८५ बैशाखसम्म पेट्रोलियम सवारी हटाउँने नीति लिएको बागमती सरकारले आफैले बस खरिद गर्दै काठमाडौं– चितवन– हेटौंडा – धुलिखेल विद्युतीय बस सञ्चालनको तयारी गरेको हो । विद्युतीय बस सञ्चालनका लागि एकवर्ष अघि साझा यातायातसँग गरेको सम्झौंता पनि सरकारले तोड्ने भएको छ । बिद्युतीय सवारी सञ्चालनका लागि साझालाई ३० करोड रुपैयाँ दिने भनिएको रकम पनि रोक्ने भएको छ ।

विद्युतीय बस सञ्चालनका लागि आवश्यक पर्ने चार्जिङ् स्टेशनका लागि उपयुक्त स्थानको छनौटका लागि बागमती सरकारले प्रदेश भित्रका महानगर, उपमहानगर, नगरपालिका र गाउँपालिकाका प्रमुख तथा उपप्रमुखसँग छलफल गरेको छ । आइतबार विद्युतीय सवारी साधन तथा सरसफाई उपकरणहरुको सञ्चालन तथा व्यवस्थापन समितिले गरेको बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलले सरकार आफैविद्युतीय बस सञ्चालनको तयारीमा रहेको बताउनुभयो । अरुको भर पर्ने होइन सरकार आफैले यायातात कम्पनी खडा गरेर बस सञ्चालनको तयारी गरेको मुख्यमन्त्री डोरमणि पौडेलले बताउनुभयो । अहिले भौतिक पुर्वाधार तथा विकास मन्त्रालय मार्फत सरकारले बस खरीदको तयारी गरेको छ । यसका लागि साझालाई दिने भनि छुट्याएको ३० करोड रुपैयाँ प्रयोग गर्ने बताउनुभयो ।

बैठकमा काठमाडौ महानगरका मेयर बिद्यासुन्दर शाक्यले साझालाई दिने १० करोड प्रदेश सरकारसँगको साझेदारीमा विद्युतीय बस सञ्चालन गर्ने बताउनुभयो । यस्तै पृथ्वी राजमार्गमा पर्ने स्थानीय तहले चार्जिङ स्टेशन निर्माणका लागि आवश्यक जग्गा समेत उपलब्ध गराई सरकारको अभियानलाई साथ दिन तयार रहेको प्रतिवद्धता व्यक्त गरेका छन् ।

समितिले विद्युतीय बस सञ्चालनका लागि पाँच ठाउँमा चार्जिङ स्टेशन निर्माणको प्रक्रिया सरकारले थालेको छ । सरकारले विद्युतीय बस चार्ज गर्नका लागि चार ठाउँका बस स्टेसनलाई प्रयोग गर्ने तयारी गरेको छभने काठमाडौं र मुग्लिङको बीचमा नयाँ ठाउँको खोजी गरिरहेको बैठकमा जानकारी दिइएको थियो । स्टेसन निर्माणका लागि गजुरी र गल्छि गाउँपालिकाको क्षेत्रमा स्थान खोज्न स्थानीय तहका नेतृत्वलाई सरकारले जिम्मा दिएको छ । अन्य ठाउँमा हेटौँडा, चितवन, काठमाडौं र धुलिखेलको बसपार्कमा चार्जिङ स्टेसन निर्माण गरिने भएको छ ।

समितिका संयोजक दिपक निरौंलाले स्टेशनमा आरामगर्ने हल, शौचालय, नुहाउने ठाउँ, होटल र बजारको निर्माण गरीने बताउनुभयो । स्टेसन निर्माणको लागि समितिले प्राबिधिक सहित अनुगमन गर्ने बताइएको छ । विद्युतीय बस काठमाडौं– भरतपुर हेटौंडा २ सय २७ र काठमाडौं धुलिखेल ३० किलोमिटर क्षेत्रमा तत्कालै सञ्चालन गर्ने तयारीमा सरकार जुटेको बैठकमा जानकारी दिइएको थियो ।

बैठकमा काठमाडौं महानगरका मेयर बिद्यासुन्दर शाक्य, भरतपुर महानगरपालिकाका मेयर रेणु दाहाल, ललितपुर महानगरका मेयर चिरीबावु महर्जन, हेटँैंडा उपमहानगरका मेयर हरिबहादुर महतसहित नगरपालिका, गाउँपालिका र वडाअध्यक्षहरुको सहभागिता थियो ।

प्रतिकृया दिनुहोस्