Paschim News

न्यूज क्लब संवाददाता प्रकाशित : २०७६/१०/१९ गते

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले एमसीसी बारे अध्ययन गर्न तीन सदस्यीय कार्यदल बनाएको छ । केन्द्रीय कमिटी बैठकमा एमसीसीकै विषयलाई लिएर शीर्ष नेताहरुको आलोचना हुन थालेपछि त्यसबारे प्रष्ट्याउन पूर्वप्रधानमन्त्री झलनाथ खनालको संयाेजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरिएको हो ।

कार्यदलमा परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली र पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री भिम रावल हुनुहुन्छ ।

१५ गतेबाट शुरु भएको नेकपा केन्द्रीय कमिटी बैठक अझै जारी छ । आइतबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले समूहगत छलफलबाट उठेका प्रश्नको जवाफ दिनुभएको छ । उहाँले एमसीसी संसोधन गरेर पारित गरिने बताउनुभएको छ ।

बैठक निर्धारित समयभन्दा ढिला शुरु भएको थियो । बैठक ढिलो भएपछि केन्द्रीय सदस्यले शीर्ष नेतृत्वलाई त्यसबारे स्पष्टिकरण सोधेका थिए । अध्यक्ष दाहालले बैठक ढिलो भएको स्वीकार गर्दै आगामी दिनमा समयमै हुने बताउनुभयो । अध्यक्ष दाहालले एकीकरण टुंगिन बाँकी रहेको जनवर्गीय संगठन र आयोग पन्ध्र दिनभित्रै छिनोफानो हुने प्रतिवद्धता जनाउनुभयो ।

‘बीआरआई र एमसीसीबारे सन्तुलित हुनुपर्छ’, उहाँले भन्नुभयो, ‘नेपाल असंलग्न राष्ट्र भएकाले आफ्नो गरिमा जोगाइराख्नु पर्छ । एमसीसीबारे समूहगत छलफलबाट सन्तुलित धारणा आएका छन् ।’ अध्यक्ष दाहालले नेताहरु व्यवहारिक र वस्तुगत हुनुपर्नेमा जोड दिनुभयो ।

प्रतिकृया दिनुहोस्