Paschim News

न्यूज क्लब संवाददाता प्रकाशित : २०७६/१०/२३ गते

काठमाडौं । सरकारले ललिता निवासको जग्गा प्रकण छानविन देखि मुद्दा दायरसम्म कसैलाई विभेद नगरेको दाबी गरेको छ ।

मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री गोकुल बास्कोटाले ललिता निवास जग्गा प्रकरणको छानविनमा ‘लालफित्ता धारी र स्वेतफित्ता धारीको व्यवहार’ नगरेको दाबी गर्नुभएको हो । विजय कुमार गच्छदार माथिको कारवाही पुर्वाग्राही भएको भन्ने संचारकर्मीको जिज्ञासामा उहाँले सरकारले कसैलाई पनि विभेद नगरेको बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘यहाँ लालफित्ता धारी र स्वेतफित्ता धारीको व्यवहार भएको छैन । यो कानून प्रयोजनको कुरा हो ।’

उहाँले बालुवाटारको जग्गा प्रकरणमा संलग्नताको आधारमा विभिन्न चरण चरणमा वर्गीकरण गरी मुद्दा दायर गरिएको बताउनुभयो । ‘बालुवाटारको घटना आज भएको होइन र सूचना प्राप्त भएपछि कारवाही थालेको हो, यसमा १ सय ७५ जनालाई कुलमा मुद्दा चलाईएको छ ।’ उहाँले भन्नुभयो, ‘पहिलो श्रेणीमा सरकारी सेवा सुविधा लिएर निवासको जग्गालाई व्यक्तिको नाममा दर्ता गराउने कार्यमा संलग्न देखिएकाले उनीहरुलाई मुद्दा चलाएको छ, जग्गाको धनी वा मोही दाबी गरेर सार्वजनिक जग्गा आफ्नो नाममा ल्याउनेहरुलाई सरकारी जग्गा आफ्नो नाममा ल्याएको अभियोग लगाईएको छ ।’ आफ्नो स्वामित्व भएका ६५ जनालाई किर्ते गरी व्यक्तिको नाममा ल्याएको जग्गा किन्नेलाई पनि मुद्दा दाबी गरिएको मन्त्री बास्कोटाको भनाइ छ ।

मन्त्री बास्काेटाले अदालती प्रक्रिया शुरु भईसकेकाले अदालतको फैसलालाई सरकारले कार्यान्वयन गर्ने स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयाे, ‘प्रक्रिया शुरु भयो अब अदालतमा गएको छ, अदालतले जे फैसला गर्छ त्यो नै अन्तिम फैसला हुन्छ र त्यो नै सरकारले कार्यान्वयन गर्ने हो ।’

प्रतिकृया दिनुहोस्