Paschim News

न्यूज क्लब संवाददाता प्रकाशित : २०७७/१/६ गते

काठमाडौं ।  नेपालका लागि छिमेकी राष्ट्र जनगणतन्त्र चीनका राजदूत हाउ याङ्चीले कोभिड–१९ का विरुद्धको लडाइँमा नेपाललगायत विश्वसमुदायले चीनलाई गरेको सहयोगप्रति कृतज्ञता व्यक्त गर्नुभएको छ ।

नेपाली सञ्चारमाध्यमलाई लिखित अन्तर्वार्ता दिंदै राजदूत हाउले चिनियाँ राष्ट्रपति सि चीन पिङको कुशल नेतृत्वमा र स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा अन्य कर्मचारीको त्याग र समपर्णका कारण चीन कोरोना भाइरस विरुद्धको लडाइँमा सफल भएको र समस्या न्यूनीकरण गरेको बताउनुभयो । साथै चीन सरकारले बडो सावधानीपूर्वक बाहिरबाट आउने संक्रमित रोक्न सफल भएको पनि उहाँले उल्लेख गनुृभएको छ । चीनका रैथानेमा यसको संक्रमण भएपछि चीन सरकारले ठुलो मात्रामा औषधि र स्वास्थ्य सुरक्षासम्बन्धी उपकरण उत्पादन गरेको उहाँले जानकारी दिनुभएको छ ।

चीनले कारोना भाइरसको संक्रमण रोक्न गरेको प्रयास र अनुभवबारे श्रव्यदृश्य माध्यमबाट विश्वलाई जानकारी दिएको चर्चा गर्दै उहाँले मानवजातिको स्वास्थ्य सुरक्षाका लागि चीनले महामारी रोक्न खुला र पारदर्शी रुपमा सहयोग गरेको जानकारी दिनुभयो । कारोना रोकथामबारे चीनले गरेका कार्य र अनुभवबारे पनि समयमै विश्व स्वास्थ्य संगठन डब्लयु एच ओलाई सहयोग गरेको राजदूत हाउले उल्लेख गर्नुृभएको छ । कारोना भाइरसको संक्रमणका कारण विश्व समुदाय सबै सँगै बाँच्ने र सबैको भविष्य साँच्ने अवस्थामा पुगेको धारण व्यक्त गर्दै उहाँले चीनले आफ्नो राष्ट्र मात्र जोगाउने एकल दृष्टि नराखी आफ्ना उत्पादनहरु विश्वलाई सहयोगी बनून भनेर प्रभावित देशमा पठाइएको पनि जानकारी दिनुभयो ।

कोरोना भाइरसको संक्रमण रोक्न नेपाल सरकारले गरेको प्रयास र अन्तर्राष्ट्रिय उडान रोकेको सम्बन्धमा सोधिएको प्रश्नमा राजदूत हाउले यो समयमै चालिएको उपयुक्त उपाय भएको उल्लेख गर्नुभएको छ । नेपाल सरकारले कोरोना भाइरसको संक्रमण रोक्नका लागि उच्चस्तरीय समिति गठन गरी शुरु गरेको लकडाउन,आइसोलेशन,चेकजाँच र प्रयोगशालाको सञ्चालनले संक्रमण न्यूनीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको उहाँको प्रतिक्रिया छ ।

अन्तर्राष्ट्रिय तथा आन्तरिक उडान स्थगित गरेर एकातिर आन्तरिक र अर्कातिर बाह्य आवातजावत रोक्दा संक्रमण बढ्न नपाएको र आवश्यक उडानले संक्रमण रोकथामका सामग्रीको आयात र राहत वितरमा सहज भएको उल्लेख गर्नुृभएको छ । सरकारले अघि सारेको लकडाउनजस्ता उपायप्रति जनताले बुद्धिमानीपूर्वक सहयोग गरेको भन्दै उहाँले खुशी व्यक्त गर्नुभएको छ । लकडाउनका कारण केही चिनियाँ नागरिक नेपालमा रहेको र उनीहरुले नेपालीसँग मिलेर संक्रमण रोक्न र अन्य विकास निर्माणका कार्य गर्न देखाएको सकृयताप्रति उहाँले प्रसन्नता व्यक्त गर्नुभएको छ ।

कारोना विरुद्धको लडाइँमा चीनले नेपाललाई दिनसक्ने सहयोगबारे सोधिएको प्रश्नमा चिनियाँ राजदूत हाउ याङ्चीले चीन कोरोनाको संक्रमणबाट ठूलो संकटमा परेको बेला नेपाली जनताले देखाएको सदाशयता र गरेको सहयोग चिनियाँ जनताले कहिल्यै नबिर्सने उल्लेख गर्नुभएको छ । अहिले नेपालमा त्यस्तै संकट आइपर्दा चीन नेपाललाई सक्दो सबै सहयोग उपलब्ध गराउन तयार रहेको जानकारी दिनुभयो । काठमाडौस्थित चिनियाँ राजदूतावासले तत्काल नेपालका सम्बन्धित मन्त्रालयसँग समन्वय गरी संयुक्त समितिमार्फत् क्वारेन्टाइन निर्माण, स्वास्थ्यपरीक्षण प्रयोगशाला स्थापना तथा परीक्षण सामग्री ल्याउन सहयोग गरेको उहाँले जानकारी दिनुभएको छ । साथै चीनको केन्द्रीय सरकार पनि नेपाल सरकारको आग्रहमा यससम्बन्धी आवश्यक सहयोग उपलब्ध गराउन तयार रहेको राजदूत हाउले स्पष्ट पार्नुभएको छ । नेपाली जनताको स्वास्थ्य संकटमा सहयोग पु¥याउन चिनियाँ जनताले जनस्तरमा पनि स्थानीय सरकार र नागरिक समाजले सहयोग सामग्री तयार पारेको उहाँले जानकारी दिनुभयो । आवश्यक पर्दा कारोना रोकथाममा अनुभव प्राप्त व्यक्तिबाट जानकारी र शिक्षा दिन पनि चिनिया सरकार तयार रहेको उहाँले उल्लेख गर्नुभएको छ ।

कोरोना भाइरसको संक्रमण रोक्न नेपाल सरकारले चीनबाट झिकाएका सामग्रीको गुणस्तरबारे सोधिएको प्रश्नमा राजदूत हाउले राजदूतावासमार्फत् सामग्री मगाइएको अवस्थामा दूतावासले केन्द्रीय सरकारको सम्बन्धित विभागमा पु¥याउने र कूटनीतिक सम्बन्धबाट सामान ल्याइने हुँदा त्यसमा गुणस्तरको समस्या नहुने उहाँले उल्लेख गर्नुभएको छ । उहाँले कुनै पनि राष्ट्रमा विभिन्न थरीका वस्तु उत्पादन हुने हुँदा चीन सरकारले यस्ता वस्तुको गुणस्तर कायम राख्न ध्यान दिंदै आएको जानकारी दिनुभयो । तर केही पश्चिमा सञ्चार माध्यमले चिनियाँ उत्पादनको गुणस्तरमाथि अनावश्यक प्रचारबाजी गरेको भन्दै राजदूत हाउले तथ्यपरक टिप्पणी गर्न चुनौती दिनुभएको छ ।

कोरोना भाइरसको संकट समाधानका लागि दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन,सार्कका सदस्य राष्ट्रले गरेको सामूहिक प्रयासलाई चीनले सहयोग उपलब्ध गराउने दिशामा केही योजना छ कि भन्ने प्रश्नमा राजदूत हाउले चीन सार्क संगठनको पर्यवेक्षक राष्ट्र भएकाले आवश्यक सहयोग गर्न सदा तयार रहेको जानकारी दिनुभयो । चीन आफ्ना छिमेकी राष्ट्र र क्षेत्रीय संगठनसँग एकता कायम गरी सहयोग अभिवृद्धि गर्न र अनुभव साटासाट गर्न इच्छुक रहेको भन्दै युरोपेली राष्ट्रहरसँग पनि भिडियो कन्फेरेन्स गरेर अनुभव र सहयोग आदानप्रदान गर्न चीन तयार रहेको उहाँले स्पष्ट पार्नुभएको छ । चीन क्षेत्रीय संगठनको माध्यमबाट महामारी रोक्ने सञ्जाल बनाई मानव स्वास्थ्यमा आइपर्ने संकट समाधान गर्न प्रतिबद्ध रहेको उहाँले उल्लेख गर्नुभएको छ ।

(यो लिखित अन्तर्वार्ता काठमाडौस्थित चिनियाँ राजदूतावासका लुआन सिउतानको संयोजनमा तयार पारिएको हो ।)

प्रतिकृया दिनुहोस्