Paschim News

न्यूज क्लब संवाददाता प्रकाशित : २०७६/१२/१६ गते

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शसांक कोइरालाले सरकार र स्वास्थ्यकर्मीका नाममा ५ बुँदे अपिल गर्नुभएको छ ।

कोरोना भाइरसको संक्रमणले विश्वनै त्रासमय अवस्थामा गुज्रिरहेको बेलामा चिकित्सकसमेत रहनुभएका महामन्त्री कोइरालाले स्वास्थ्यकर्मीलाई यो संकटको घडीमा उच्च मनोवल लिएर काम गर्न र स्वास्थ्यकर्मीका लागि आवश्यक सामग्री सहजता पूर्वक उपलब्ध गराउन सरकारलाई विशेष अपिल गर्नुभएको हो ।

उहाँले लकडाउनको समयमा घरमा बसेका नागरिकलाई कुनै समस्या भए वा कोरोना भाइरस संक्रमण भएको शंका भएका तुरुन्तै उपचारको व्यवस्था गर्न सरकारलाई अनुरोध गर्नुभएको छ ।

महामन्त्री डा. कोइरालाले गर्नुभएको अपिल :
विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरससँग जुध्न नेपाल सरकारले गरिरहेका प्रयत्नहरुलाई नेपाली कांग्रेसले निरन्तर साथ दिँदै आएको छ । लकडाउनको पालना गरेर जनताले यो संघर्षप्रति एक्येवद्धता जनाइरहेका छन् । परिणाममुखी रूपमा कार्य गर्न निर्मित वातावरण उपयोग गर्दै अब स्वास्थकर्मी र सुरक्षाकर्मीको नेतृत्वमा हामीले संघर्षमा जीत हासिल गर्नुपर्दछ ।

चिकित्सकका रूपमा लामो समय सेवा र प्राध्यापनसमेत गरेको नाताले आजको स्थितिलाई मैले निकै दिनदेखि नजिकबाट नियालिरहेको छु । अतः नेपाल सरकार र नेपालभरिका स्वास्थ्यकर्मीहरुका नाममा यो अपील सार्वजनिक गरेको छु ।

१. कुनैपनि स्वास्थकर्मी निश्चित भत्ताले भन्दा मानवीय भावनाले अभिप्रेरित रहन्छन् बिरामीको उपचार गर्न । उनीहरुमा रहेको त्यही मानवीय भावना, समर्पण र साहसनै आजको विश्वब्यापी महामारीबाट बाहिर निक्लने मुख्य मार्ग हो । अतः म नेपालभरिका सबै स्वास्थकर्मीमा आजको यो प्रतिकुल परिस्थितिमा उच्च मनोबलका साथ कार्य गर्न एक चिकित्साकर्मी समेतका नाताले अपील गर्दछु  ।

२. स्वास्थकर्मीहरुका लागि अनिवार्य पीपीइको प्रबन्ध समयमै गर्न नसक्नु आजको सरकारको सबैभन्दा ठूलो कमजोरी र लाचारी हो । यथासिघ्र देशब्यापी रूपमा पीपीइ पुर्‍याएर संभावित संक्रमितको परीक्षण एवं संक्रमितको उपचारमा स्वास्थकर्मीको मनोबल उच्च बनाउन म सरकारसँग अनुरोध गर्दछु ।

३. विश्व स्वास्थ संगठनले बढीभन्दा बढी परीक्षणका लागि अपील गरेको छ । हामी केवल टेकु स्थित राष्ट्रिय प्रयोगशालामा परीक्षण गरेर परीक्षणको चाप धान्न सक्दैनौं । केही थप ठाउँमा शुरु गर्न लागिएको सकारात्मक छ, तर ७ प्रदेशमै परीक्षण गर्ने ब्यवस्था अब ढिलाइ नगरी शुरु गर्न र क्रमशः त्यसलाई सबै जिल्लामा विकेन्द्रित गर्न म सरकारलाई विशेष अनुरोध गर्दछु ।

४. हालसम्म पाँच जनामा कोरोना संक्रमण देखिएको छ । तर उनीहरु यसबीचमा घुलमिल भएको परिवारका सदस्य, छरछिमेकी एवं ब्यक्तिगत साथी समूहको परीक्षण गर्न जरुरी तदारुकता र उच्च सतर्कता सरकारले नदेखाउनु दुखद् छ । तत्काल परीक्षण गर्ने ब्यवस्था मिलाउन म नेपाली कांग्रेस पार्टीका तर्फबाट सरकारलाई अनुरोध गर्दछु ।

५, लकडाउनमा घरभित्र बसेका जनतालाई संक्रमणको कुनै आशंका हुनासाथ घरबाटै सावधानी पूर्वक ल्याएर परीक्षण केन्द्रमा पुर्‍याउने ब्यवस्था गर्न म सरकारलाई आग्रह गर्दछु । त्यसरी आइसोलेसन र संक्रमित देखिए सुरक्षित उपचारको ब्यवस्थाले मात्रै सम्बन्धित ब्यक्तिबाट अन्यमा फैलिन रोक्न सकिन्छ  ।

अन्य देशले हासिल गरेको सफलता र असफलता दुवैबाट सिकेर अघि बढ्नु आज हामी सबैको राष्ट्रिय कर्तव्य रहेको अपील पनि म नेपाली कांग्रेसका तर्फबाट सरकार, सम्बन्धित निकाय र सबै जनतामा गर्न चाहन्छु ।

जय नेपाल
शसांक कोइराला
महामन्त्री

 

प्रतिकृया दिनुहोस्