Paschim News

न्यूज क्लब संवाददाता प्रकाशित : २०७६/१२/१८ गते

काठमाडाैं । संस्कृति, नागरिक उड्डयन तथा पर्यटनमन्त्री योगेश भट्टराईले काेराेना भाइरस (कोभिड-१९) को संक्रमण निराकरण र रोकथामका लागि सरकारले सम्पूर्ण प्रयत्न गरिरहेको बताउनुभएको छ ।

 मन्त्री भट्टराईले एक टेलिभिजनसँगकाे अन्तर्वार्तामा अहिलेको समय आपतकालीन अवस्था भएकाले सामान्य रुपमा नलिन आग्रह गर्नुभयो ।

सरकारले दिएकाे आदेश पालना गर्ने र विश्व स्वास्थ्य संगठनले दिएका निर्देशनहरु पालना मात्र गरे पनि काेराेना भाइरस संक्रमणबाट बच्न सकिने मन्त्री भट्टराईले  बताउनुभयो । उहाँले नेपालमा हालसम्म एक हजारभन्दा बढीको परीक्षण गर्दा ५ जनामा मात्र पोजेटिभ देखिएको जानकारी दिनुभयो । संक्रमितको संख्या लुकाइएको भन्ने आरोपको पनि उहाँले खण्डन गर्नुभयो ।

मन्त्री भट्टराईले अहिले परीक्षणका लागि आवश्यक उपकरणहरु प्रदेशहरुमा उपलब्ध गराइसकिएको बताउँदै अब २० हजार मानिसको स्वास्थ्य परीक्षण गर्न सकिने जानकारी दिनुभयो । अबको केही दिनभित्र देशभर १० ठाउँमा कोभिड १९ को नमूना परीक्षण ल्याब स्थापना गरिसक्ने उहाँले बताउनुभयो ।

लकडाउनका कारण संकटमा परेका विपन्न नागरिकहरुको जीविकोपार्जनका लागि समन्वय गर्न स्थानीय तहका प्रत्येक वडाहरुलाई निर्देशन दिइसकिएको उहाँले बताउनुभयो । त्यसका लागि स्थानीय तहले बजेट रकमान्तरसमेत गर्न सकिने अख्तियारी दिएको बताउँदै भट्टराईले अझै बजेट अभाव भए संघीय सरकारले नै उपलब्ध गराउने प्रष्ट पार्नुभयो ।

खाद्यन्न अभावमा कुनै जनता भोकै मर्न नपरोस् भनेर वडाहरुलाई जवाफदेही बनाइएको भट्टराईकाे भनाइ छ । उहाँले सार्वजनिक खरिदको प्रक्रिया पूरा गरेरै चीनबाट आवश्यक उपकरण खरिद गरेर ल्याइएको दाबी गर्नुभयो । उपकरण खरिदमा केही बढी मूल्य भने परेको उहाँले स्वीकार गर्नुभयो ।

उपकरण खरिदका लागि एक लाख ५३ हजार डलरमा निगमको जहान चार्टर गरिएको बताउदै उहाँले विमान चार्टरको रकम पनि आपूर्तिकर्ता कम्पनीले नै व्यहोरेको प्रष्ट पार्नुभयो ।

प्रतिकृया दिनुहोस्