Paschim News

प्रकाशित : २०७५/६/१९ गते

दुई साता लामो विदेश भ्रमण सकेर स्वदेश फर्कनु भएका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीमा बढेको असन्तुष्टी ढाकछोप गर्दै पार्टीमा कुनै विवाद नरहेको दावी गर्नु भएको छ ।

संयुक्त राष्ट्र संघको ७३ औं महासभामा सहभागी भएर विहीवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले भन्नुभयो–‘विगतमा पार्टी एकता हुँदैन भन्ने कुरा आयो तर एकता भएर छोड्यो ।’

पार्टी र सरकारको कार्यशैलीका बारेमा बरिष्ठ नेता माधव नेपाल असन्तुष्ट रहनु भएकोबारे सोधिएको प्रश्नको कुटनीतिक जवाफ दिदै ओलीले भन्नुभयो–‘कहिले काहिँ मनको वह पोख्न काहिँ पुराना गीतहरु गुनगुनाउन मन लाग्छ, त्यस्तै भएको हुनुपर्छ ।’

नेता नेपाल र आफू वीचको सम्बन्ध २०२९ सालदेखिको भएको बताउँदै ओलीले त्यो सम्बन्ध घनिष्ठ र मित्रवत रहेको दावी गर्नुभयो ।

वर्तमान सरकार ५ वर्षसम्म निरन्तर रहने र यहि सरकारले निर्वाचन गराउने दावी गर्दै उहाँले भन्नुभयो–‘निर्वाचन पछि पार्टी अहिलेको भन्दा अझ बलियो हुनेछ ।’

प्रतिकृया दिनुहोस्