Paschim News

प्रकाशित : २०७५/६/२८ गते

म्याग्दीको धौलागिरि गाउँपालिका १ मा पर्ने गुर्जा हिमाल आरोहणमा गएका ८ जनाको मृत्यु भएको छ भने एकजना बेपत्ता भएका छन् ।

काठमाडौंको प्रोजेक्ट वे नामक ट्रेकिङ एजेन्सीबाट पाँच जना कोरियन नागरिक र चार जना नेपाली गुर्जा हिमाल चढ्न गएका थिए ।

उनीहरु हिम पहिरो र आँधीमा परेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जानकारी दिएको छ ।

शनिबार बिहान पोखराबाट गएको हेलिकोप्टर पनि अवतरण गर्न नसकेर फर्किएको छ ।

मौसममा सुधार भएपछि मध्याह्न पुनः खोजी कार्यमा निस्कने प्रहरीले जनाएको छ ।

गुर्जा हिमाल चढ्नका लागि आरोहण टोली गुर्जा गाउँबाट २१ गते बेसक्याम्पतर्फ हिँडेको थियो ।

टोलीमा भरिया गुर्जा गाउँकै बासिन्दा थिए । तर उनीहरु सम्पर्कमा नआएपछि स्थानीयबासी खोजीका लागि शुक्रबार बेसक्याम्प गएका थिए ।

त्यहाँ जाँदा टेन्टहरु उडाएको, चिन्न नसकिने शवहरु फेला परेको देखेपछि उनीहरु शुक्रबार साँझ गाउँ फर्किएर प्रहरीमा खबर गरेका थिए । गाउँलेले खबर गरेपछि शनिबार बिहानैबाट खोजी र उद्धार टोली परिचालन भएको प्रहरीले बताएको छ ।

पश्चिम हिमालको नामले समेत चिनिने गुर्जा ६ हजार ४६५ मिटर अग्लो छ ।

प्रतिकृया दिनुहोस्