Paschim News

प्रकाशित : २०७५/६/२९ गते

म्याग्दीको धौलागिरी गाउँपालिका–१, स्थित गूर्जा हिमालको आधारशिविरमा बेपत्ता पर्यटकहरुको शव भेटिएको छ । सिम्रिक एअरको हेलिकप्टरमार्फत आइतबार बिहान खोजी गरी मृतक सबै ९ जना पर्यटकहरुको शव सङ्कलन गरेर गूर्जा गाउँमा ल्याइएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

५ जना कोरियाली र ४ नेपालीसहित ९ जनामध्ये ८ जनाको शव काठमाडौं ल्याउने तयारी भैरहेको म्याग्दीका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले बताउनुभयो ।

उहाँका अनुसार एकजना स्थानीयको शव जिल्ला ल्याउने तयारी भैरहेको छ भने मृतक पर्यटकहरुको पहिचान खुल्न बाँकी छ । दक्ष जनशक्ति र उपकरण नहुँदा तथा समय अभावका कारणले गर्दा शनिबार बेपत्ता पर्यटकको शव देखिए पनि उद्धार गर्न सकिएको थिएन ।

खोंच र अप्ठ्यारो भिरमा रहेका कारण उपकरणविना मृतकको शव सङ्कलन गर्न समस्या भएको थियो । बेपत्ता भएकाहरुको खोजीका लागि गूर्जा गाउँबाट १६ जना स्थानीय शनिबार घटनास्थल पुगेका थिए ।

गूर्जा गाउँदेखि घटनास्थल गूर्जा हिमालको आधारशिविर पाँच घण्टाको दुरीमा रहेको छ । ७ हजार १९३ मिटर अग्लो गूर्जा हिमाल आरोहणका लागि गएको पर्यटकको टोली हिमआँधी र हुरीमा परेको अनुमान गरिएको छ । शनिबार बिहान उद्धारका लागि सिम्रिक एअरको हेलिकप्टर घटनास्थल पुगेपनि अवतरण हुन नसकेपछि फर्किएको थियो ।

कोरियाली नागरिक किम चङ होको नेतृत्वमा गूर्जा हिमाल आरोहणका लागि प्रस्थान गरेको टोली बेसक्याम्पमा बास बसेको बताइएको छ । हिमाल आसपासका क्षेत्रमा रहेका वनजङ्गलका रुख समेत हावाहुरीका कारण भाच्चिँएको अवस्थामा भेटिएकाले अत्यधिक हावाहुरीका साथै हिमआँधीले गर्दा दुर्घटना भएको हुनसक्ने स्थानीयले अनुमान गरेका छन् ।

यसै साता मात्रै गूर्जा हिमाललगायत अन्य हिमाल आरोहणको लागि दुई टोली आधारशिविरतर्फ प्रस्थान गरेका थिए । एक दशकपछि मात्रै गूर्जा हिमाल आरोहणका लागि अनुमति दिइएको थियो ।

प्रतिकृया दिनुहोस्