Paschim News

माेहनप्रसाद मैनाली प्रकाशित : २०७४/४/२३ गते

समुद्री सतहबाट ४ हजार ३ सय ८० मिटरको उचाइमा अवस्थित गोसाइँकुण्ड विश्वका सबै नागरिकहरू र अझ विशेषतः हिन्दूहरूका निम्ति पवित्र तीर्थस्थल मानिन्छ । यस कुण्डको ‘पवित्र जल’ ले ‘स्नान’ गरेमा ‘पाप’ नास हुने धार्मिक मान्यता एवम् जनविश्वास रहँदै आएको छ ।

हरेक वर्ष अङ्ग्रेजी क्यालेन्डरअनुसार अगस्ट महिनामा पर्ने नेपाली पर्व जनैपूर्णिमा र दशहराका दिन गोसाइँकुण्डमा विशेष मेला लाग्ने गर्छ । यी पर्वका बेला हजारौं तीर्थयात्रीहरू गोसाइँकुण्ड पुगी कुण्डको ‘पवित्र जल’ ले ‘स्नान’ गरेर धार्मिक आस्था प्रकट गर्दछन् । गोसाइँकुण्डको बीचमा रहेको ढुङ्गालाई महादेव भगवानको मन्दिरकै अवशेष भएको विश्वास गरिन्छ ।

1

गाेसाइँकुण्ड

नेपाल सरकारले सीमसार सूचीमा राखेको लाङटाङ राष्ट्रिय निकुञ्जअन्तर्गत पर्ने गोसाइँकुण्ड क्षेत्रमा गोसाइँकुण्ड, भैरवकुण्ड, सरस्वतीकुण्ड, क्युमाछोकुण्ड, दूधकुण्ड, रक्तकुण्ड, चन्द्रकुण्ड, सूर्यकुण्ड, आमाकुण्ड, गणेशकुण्ड, बतासकुण्ड, लामुकुण्ड, एक्लेकुण्ड, राजकुण्ड, तीनचुलीकुण्ड, नाउकुण्ड र झ्याकुन्चुलीकुण्ड गरी १७ वटा कुण्डहरू छन् ।

त्रिशुलीधारा

‘देवता’ र ‘दानव’ बीचको लडाइँका क्रममा समुद्र–मन्थनबाट निस्किएको ‘कालकूट विष’ महादेवले आफ्नो कण्ठमा धारण गरे (घाँटीमै अड्काइराखे) । त्यसपछि विषको प्रभावले महादेवलाई औडाहा भयो र उनी पृथ्वीमा भौतारिँदै हिँड्ने क्रममा यस क्षेत्रको त्रिशुलीधारा आसपासकै ठाउँमा पुगे ।

Mohan Prasad Mainali

त्रिशुलीधारामा अवस्थित शिवलङ्ग ।

त्यहाँ उनले त्रिशुलको प्रयोगद्वारा चट्टानमा प्वाल पारेर जलप्रवाह गराई त्यही जलको सेवन गरेपछि विषको प्रभाव कम भर्इ महादेवलाई शान्ति मिलेको धार्मिक विश्वास रहिआएको छ । यसै आधारमा यो स्थान त्रिशुलीधाराको नामले सुपरिचित हुँदै आएको मानिन्छ ।

त्रिशुलीधारा क्षेत्र गोसाइँकुण्डको उत्तरपूर्वी कुनातिर अवस्थित छ । र, त्रिशुलीधारा नै त्रिशुली नदीको उद्गमस्थल हो । त्रिशुली हाइड्रोपावर र देवीघाट हाइड्रोपावरको पानीको मुहान पनि यही हो ।

यसरी पुगिन्छ गोसाइँकुण्ड…

काठमाडौंबाट बसयात्रा गर्दै धादिङको गल्छी हुँदै नुवाकोट पार गरेर रसुवाको धुन्चे पुग्न सकिन्छ । समुद्री सतहबाट १ हजार ९ सय ६० मिटरको उचाइमा अवस्थित धुन्चेबाट पदयात्रा सुरु भई घट्टेखोला, देउराली, चन्दनबारी, चोलाङपाटी, लौरीविनायक हुँदै ४ हजार ३ सय ८० मिटर उचाईको गोसाइँकुण्ड पुग्न सकिन्छ ।

यस्तो छ ‘टान’ को नालीबेली…

TAANनेपालका अगुवा ट्रेकिङ व्यवसायीहरूको छाता संगठन ट्रेकिङ एजेन्सीज एशोसियसन अफ नेपाल (टान) ३७ वर्षअघि स्थापित भएको हो । ‘टान’ ले नेपालमा ‘माउन्टेन टुरिज्मको विकास र प्रबद्र्धनका निम्ति उल्लेखनीय योगदान पुर्‍याउँदै आएको छ ।

‘माउन्टेन टुरिज्म’ का क्रममा ट्रेकिङ गाइड तथा एजेन्सीहरूले झेलिरहेका समस्या र तिनको समाधानका लागि सरकारले गर्नुपर्ने कामहरूका बारेमा समस्या तथा तिनको समाधानका उपायसहित नेपाल सरकारलाई सल्लाह, सुझाव र परामर्श दिँदै आफ्ना सदस्यहरूको हकअधिकार र हित प्रबद्र्धन गर्दै आइरहेको संस्था हो ‘टान’ ।

पत्रकारहरूको अवलोकन…

गोसाइँकुण्ड यात्रालाई सहज पार्न सकिन्छ भन्ने सन्देश विश्वभर फैलाउने उद्देश्यका साथ टानले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मिडियाका ३० जना पत्रकारहरूलाई अवलोकनका लागि आमन्त्रण गरेको थियो । यसै क्रममा २३ जना पत्रकार अवलोकनमा सहभागी रहे ।

5

टानका मिडिया संयोजक सूर्यबहादुर घिमिरेको नेतृत्वमा २३ जना पत्रकारहरू सम्मिलित हाम्रो टोली  २६ मेको बिहान ७ बजे काठमाडौंबाट गोसाइँकुण्डतर्फ प्रस्थान गर्यो ।

काठमाडौंको कोलाहल वातावरणलाई चिर्दै हामी नागढुङ्गाबाट ओरालो लाग्यौं । केही फराकिलो बाटो र शान्त वातावरणले हामीलाई रमाइलो महशुस गरायो । धादिङको गल्छीमा ब्रेकफास्ट गरेपछि हामीले यात्रालाई निरन्तरता दियौं ।

Mohan Prasad Mainali

गल्छीको होटलमा ब्रेकफास्ट गर्दै हाम्रो टिम

मलगायत धेरै पत्रकार साथीहरूका निम्ति यस क्षेत्रको यात्रा पहिलो भएकाले नौलो महशुस भएको थियो । टानका अपरेसन अफिसर देवेन्द्र डंगोल मसँगै रहनु भएकाले मलाई यात्राभर रमाइलो अनुभव भयो । उत्सुकतावस यात्राका क्रममा भेटिने विभिन्न ठाउँका बारेमा म प्रश्न तेर्स्याउँदै जान्थें, देवेन्द्रदाइ सहजताका साथ समाधान गर्दै जान्थे । देवेन्द्रदाइको भने यसपटकको गोसाइँकुण्ड यात्रा सातौं थियो । लाग्थ्यो, यहाँका ढुङ्गामाटो, हावापानी, बोटबिरुवा मात्र होइन, गोसाइँकुण्डको हिँउ पनि उनीसँग चिरपरिचति छन्, उनीहरू एकापसमा कुरा गरिरहेका छन् ।
विभिन्न ठाउँका बारेमा देवेन्द्रदाइले पत्रकारहरूलाई जानकारी गराउँदै लगे । नुवाकोट दरबारको ठीक तल देवीघाट पुगियो । जहाँ ‘राष्ट्रनिर्माता’ पृथ्वीनारायण शाहको ‘राष्ट्रनिर्माणकै क्रममा’ देहावसान भएको मानिन्छ, त्यहाँ उनको सालिक छ । त्यस स्थललाई नेपालको राजनीतिक इतिहासमा ऐतिहासिक स्थलका रूपमा ग्रहण गर्दै हाम्रो यात्रा अगाडि बढ्यो । नुवाकोटको त्रिशुली नदीको किनारबाट सुरु भएको हाम्रो यात्राले रसुवा जिल्ला प्रवेश गरेपछि पहाडी उकालोतर्फ पदार्पण गर्यो ।

साँघुरो तर सफा पक्की सडकको घुम्ती पार गर्दै हामी लाङटाङ राष्ट्रिय निकुञ्ज प्रवेश गर्‍यौं । हाम्रो टोलीलाई नेपाली सेनाले सामान्य सोधपुछ गर्यो । देवेन्द्रदाइले हाम्रो उद्देश्य बतायपछि सोधपुछका लागि खटिएका नेपाली सेनाका जवानले केही महत्वपूर्ण जानकारीसहित अगाडि बढ्न प्रेरित गरे ।

9

राम्चेको भीरबाट कैद गरिएको पारिपट्टीको पहिराको दृश्य ।

हाम्रो यात्रा निरन्तर अगाडि बढ्यो । केही समयको यात्रापश्चात हामी राम्चेको भीर पुग्यौं । हेर्दा अत्यन्त कहाली लाग्ने त्यो भीर देखेपछि मैले मनमनै बस चालकहरूलाई कहिल्यै नगरेको सम्मान गरें । केही अघि मात्र यही भीरमा गाडी दुर्घटना हुँदा ३६ यात्रुको ज्यान गएको थियो ।

मलाई सम्झना भयो केही अघिको त्यो घटना । नेपालमा संविधान जारी भएको कुरालाई लिएर भारतले नेपालमा आर्थिक नाकाबन्दी गरेको थियो । सवारी–इन्धनको चरम अभाव भएपछि चीन सरकारले अनुदानमा दिएको  इन्धन यही बाटो भएर काठमाडौं भित्र्याइएको थियो ।

यस्तो भीरको बाटो भएर ठूला ट्याङकरहरू कसरी गुडे होलान् ? ज्यानको बाजी लगाएर अति नै जोखिमको काम गर्ने भएर नै नेपालीहरूलाई वीर नेपाली भनिएको हो भन्ने यो भीर र चालकको होसियारीपूर्वकको साहसबाट प्रष्ट भएको मैले महशुस गरें ।

हामीले राम्चे भीरको पारिका केही दृश्यहरू क्यामरामा कैद गर्‍याैँ, जहाँ गत वर्षको भूकम्पले पहिरो गएर छियाछिया भएको थियो । पहिरोकै बीचमा वस्तीहरू देखिन्थे । माथिबाट पहिरो झरेको, तल कहालीलाग्दो भीर । बीचमा साँघुरा वस्तीहरू । नेपालीहरू जोखिम मोलेर दुश्साहसपूर्वक बाँचिरहेका । यस्तो स्थानमा जीवनयापन गरिरहेका नागरिकप्रति राज्यको कुन र कस्तो भूमिका हुनुपर्ने हो ? त्यहींका जनप्रतिनिधिहरूले जानून् । तर, यस्तो दुस्साहसको जिन्दगी जिउँनु उनीहरूको रहर होइन, बाध्यता हो ।

यस्तै कुरा खेलाउँदै कहालीलाग्दो राम्चेको भीर पार भयो । करिब १ बजे हामी सदरमुकाम धुन्चे पुग्यौं । त्यहीं खाना खाएर करिब ३ बजे हाम्रो टोली गोसाइँकुण्ड यात्राका लागि प्रस्थान गर्‍यो ।

जे देखियो धुन्चेदेखि गोसाइँकुण्डसम्म…

धुन्चे बजारबाट केही अघि हिडेँपछि हिमालयन स्प्रिङ वाटरकाे फ्याक्ट्री भेटियाे । यहाँ उत्पादित पानी विदेशमा पनि निर्यात हुने रहेछ । याे स्थानमा उतपादित मिनरल वाटर विदेशमा निर्यात हुनु हाम्राे लागि गर्वकाे कुरा हाे ।

010

धुन्चेस्थित हिमालयन स्प्रिङ वाटरको उत्पादन स्थल

धुन्चेबाट सुरु भएको हाम्रो यात्रा तेर्सो, केही ओरालो र पुनः तेर्सो बाटो हुँदै घट्टेखोलामा पुगियो । जिन्दगीकै रोमाञ्चक यात्रा सुरु भयो उकालो बाटोमा । पानी परेकाले कोही वर्षादीमा र कोही छाता ओड्दै यात्रा सुरु भयो । हामी उकालो लाग्दै गर्दा कतै बिग्रिएका पुराना बाटाहरूको मर्मत हुँदै थियो भने कतै नयाँ गोरेटो बाटोको निर्माण भइरहेको थियो ।

10

धुन्चेबाट यात्रा अारम्भ गर्दै टानका पदाधिकारी

हामी जति उकालो उक्लिँदै जान्थ्यौं त्यति नै रोमाञ्चकता थपिएको महशुस हुन्थ्यो । वनको बाटो भए पनि हामीले कुनै जङ्गली जनावरहरू देखेनौ, एकाध चराहरूको आवाज बाहेक ।

17

पारिपट्टी वनको बीचमा एकनास रुपले झरना झरिरहेको थियो । सो झरना जुन गोसाइँकुण्डदेखि निरन्तर बगिरहेको थियो । त्यसैको आवाजसँगै हाम्रो यात्रा निरन्तर अगाडि बढिरह्यो । देउराली, धिम्सा हुँदै ३ हजार ३ सय मिटरको उचाईमा रहेको चन्दनबारीमा गएर हाम्रो गोसाइँकुण्डको पहिलो दिनको यात्रा पूरा भयो ।

19

चन्दनबारी स्थित होटल तथा लजको अन्यन्तै मनमोहन दृश्य ।

दोस्रो दिन हाम्रो यात्रा बिहान ७ बजे चन्दनबारीबाट सुरु भयो । अग्ला रुखहरूको बीचबाट केही उकालो र केही तेर्सो बाटो हुँदै हामी चोलाङपाटी पुग्यौं, जहाँबाट लाङटाङ हिमालको सहज रूपमा दृश्यावलोकन गर्न सकिन्थ्यो । उकालो बाटोको यात्रा निरन्तर चली नै रह्यो ।

18

चन्दनबारीबाट चोलाङपाटी जाने क्रममा जंगलमा भेटिएका रूखहरू

चन्दनबारीबाट करिब ५ घन्टाको यात्रापछि हामी लौरीबिना पुग्यौं । लौरीबिनामा खाना खाएर सबैभन्दा डरलाग्दो उकालो बाटोको यात्रा सुरु गरियो । लौरोको सहायताबिना हिँड्न कठिन हुने भएकाले यस बाटोलाई लौरीबिनाको उकालो भनिएको होला । साँच्ची नै यो बाटो अति नै कठिन रहेछ । यही स्थानबाट गोसाइँकुण्डको हिमाली भेग सुरु हुन्छ ।

20

चोलाङपाटीबाट देखिएको लामटाङ हिमालको दृश्य

यस स्थानभन्दा माथि कुनै पनि बोटबिरुवा हामीले देखेनौं । कतै हरिया चउर भेटिन्थे भने बाँकी काला चट्टानहरू मात्रै । हिँड्न नसक्ने कतिपय यात्रीहरू यहींबाट फर्किएको हामीले देख्यौं । लौरीबिनाको उकालीको अन्तिममा एक बौद्ध गुम्बा रहेछ, जसलाई गत वर्षको विनाशकारी भूकम्पले क्षति पुर्याएको रहेछ । पुनर्निर्माण नभएकाले गुम्बा अस्तव्यस्त देखिन्थ्यो ।

23

अब हाम्रो यात्रा केही तेर्सो र केही उकालो हुँदै गन्तव्यस्थल गोसाइँकुण्डतर्फ लाग्यो । देवेन्द्रदाइले उकालो बाटो सकियो भनेपछि हामीमा अनौठो किसिमको खुशीको सञ्चार भयो । यात्राकै क्रममा सबैभन्दा पहिले हामीले सरस्वतीकुण्ड देख्यौं । क्षणमै कुहिरोले ढाक्ने र क्षणमै खुला हुने त्यो दृश्य अति नै रोमाञ्चक थियो ।

002

सरस्वतीकुण्ड

कुहिरो र सरस्वतीकुण्डको लुकामारीलाई छिचोल्दै हामी सरस्वतीकुण्डको तस्बिर लिन सफल भयौं । केही ओरालो बाटो हिँडेपछि हामीले अर्को कुण्ड देख्यौं, जुन भैरवकुण्ड थियो । भैरवकुण्डको पनि तस्बिर लिँदै हामी अघि बढ्यौं ।

02

भैरवकुण्ड

भैरवकुण्ड दृश्यावलोकनको केही मिनेटको दुरीमै गोसाइँकुण्डको दृश्यपान भयो । यो मेरा लागि जिन्दगीकै अत्यन्त रोमाञ्चकारी क्षण थियो ।

24

गोसाइँकाुण्ड

यात्राकै क्रममा पग्लिँदै गरेको हिउँ देखियो, सोचें– आजै हिउँ परेछ । मेरो अनुमान  त सही सावित भयो । तर, अाज नभर्इ एक हप्ताअघि मात्र हिमपात भएको रहेछ । बिहान ७ बजे चन्दनबारीबाट सुरु भएको हाम्रो यात्रा साँझ ४ बजे गोसाइँकुण्डमा पुगेर टुंगियो ।

25

त्यहाँ पुगेपछि कोही तस्बिर लिन थाले, थकाइले चूर भएकाहरू होटलमा थकाइ मार्न गए । कोही गोसाइँकुण्डको पानी छुन पुगे । म पनि गोसाइँकुण्डका बारेमा जे सुनेको थिएँ, त्यससँग आँखाअगाडिको दृश्यलाई तुलना गर्दै अवलोकन गर्न थालें । सुनेको र प्रत्यक्ष देखेको दृश्यबीच कति फरक हुँदोरहेछ भन्ने अनुभव पनि राम्रैसँग गरियो । गोसाइँकुण्डको चारैतिर केही उचाइमा देखिने हल्का हिउँले ढाकिएका काला पहाडहरूले यात्रुलाई स्वागत गरिरहे झैं प्रतीत हुन्थ्यो ।

त्रिशुलीधाराका बारेमा पनि केही सुनेकाले मलाई कौतुहलता जाग्यो । करिव २० मिनेटको यात्रापछि त्यहाँ पुगिने जानकारी भएपछि म त्यता हिँड्न तयार भएँ । धेरै साथीहरू तस्बिर लिनमै मस्त र व्यस्त देखिएकाले म एकछिन अल्मलिएँ । सुरुकै यात्रादेखि सँगै रहेका केही साथीहरूलाई आग्रह गरें । ‘टान’ की शोभा खनाल बहिनी तयार हुनुभयो ।

26

महादेवले त्रिशुलीको प्रयोगबाट पत्थर प्वाल पार्दा जल उत्पन्न भएको भनि विश्वास गरिएको स्थल

अफिसियल यात्रा भएकाले समयको ख्याल गर्नै पर्यो । कार्यातालिकाअनुसार भोलि बिहानै हामी फर्कनुपर्ने भएकाले मौसमले साथ नदिएमा भोलि त्रिशुलीधारा पुग्न नसकिने हो कि भन्ने मेरो चिन्ता थियो । त्यसैले त्यसतर्फ जान म हतारिएको थिएँ ।

शोभा बहिनी र म त्रिशुलीधारातर्फ प्रस्थान गर्यौं । करिब २० मिनेटको यात्रापछि त्रिशुलीधारा पुगियो । त्रिशुलीधाराको पवित्र जलले स्नान गरेमा शुद्ध भइन्छ भन्ने धार्मिक मान्यतालाई आत्मसात् गर्दै त्यस स्थानका वस्तुस्थितिका बारेमा अवलोकन गरियो । त्रिशुलीधाराबाट गोसाइँकुण्डलाई नियाल्दा स्वर्ग के हो र ! स्वर्गमा पुगेपछि कस्तो अनुभव हुन्छ ! भन्ने अनुभूति भयो । यो स्वर्गीय अनुभव प्राप्त हुन मन पवित्र भएर मात्र हुँदैन, प्रकृतिले पनि साथ दिनुपर्छ । ‘प्रकृतिको भूमिका सबैभन्दा महत्वपूर्ण हुन्छ र हामी त्यसमा रमाउन सक्नुपर्छ’ मलाई यही कुराको अनुभव भयो।

27

गोसाइँकुण्डस्थित भगवान शिवको मन्दिर

गाेसाइँकुण्डकाे अासपारमा भएका हाेटलरहरू मध्ये केहि अझै पुननिर्माणकाे पर्खाइमा अस्तव्यस्त अवस्थामा देखिए ।

28

भूकम्पले भत्काएको गोसाइँकुण्डस्थित एक होटल

त्रिशुलीधाराबाट फर्कंदा एउटा दृश्य देखियो, जुन अनौठोजस्तो लाग्यो । एउटा मुसा गोसाइँकुण्डको किनारमा यताउता गरिरहेको थियो । त्यो हिमाली भेग, जहाँ केही उब्जनी हुँदैन । त्यस्तो ठाँउमा मुसाको अस्तित्व कसरी रह्यो ? शायद ‘भगवान महादेवको पुत्र गणेशका बाहन’ भएकाले त्यस स्थलमा मुसा रहेका पो हुन् कि ? हामीले धार्मिक विश्वासका केही किंबदन्तीबारे चर्चा गर्यौं, फोटो खिँच्यौं । मुसालाई ‘बाइबाइ’ गर्दै होटल लेकसाइटमा फर्कियौं, जहाँ हाम्रो आजको विश्रामस्थल थियो ।

२८ मेको बिहान आकाश गड्याङगुडुङ गर्यो, सोचें पानी पर्ने भयो । ओरालो बाटो चिप्लो भएपछि कसरी हिँड्ने म सोच्न थालें । तर, अचम्म ! त्यहाँ त पानी होइन, हिउँ पो पर्दोरहेछ । करिब डेढ घन्टाको अवधिमा एक फुटजति हिमपात भयो । पत्रकारहरूको टोलीका कोही हिउँ खेल्दै रमाउन थाले भने कोही हिमपातको दृश्य क्यामरामा कैद गर्न थाले । करिब १ घन्टा हिउँसँग रमाउँदै बितायौं ।

29

टानको कार्यतालिका अनुसार २९ मेको बिहानै म्याराथनको कार्यक्रम राखिएको थियो । केही सञ्चारकर्मी गोसाइँकुण्डमै रहेर म्यारथनको रिपोर्टिङ गर्ने, केही चन्दनबारी र केही आजै धुन्चे पुगेर भोलि बिहानको रिपोर्टिङका लागि तयारी गर्ने मिडिया संयोजक सूर्यबहादुर घिमिरेको अनुरोध थियो ।

तालिकाअनुसार २३ जना सञ्चारकर्मीमध्ये १४ जना धुन्चे, २ जना चन्दनबारी र ७ जना गोसाइँकुण्डमै रहने निर्णय भयो । संयोजक घिमिरको नेतृत्वमा मलगायत १४ जना पत्रकारहरू तथा टानका कर्मचारीहरू बिहान नौ बजे धुन्चेका लागि प्रस्थान गर्यौं । । देवेन्द्रदाइ गोसाइँकुण्डमै रहेर भोलिको कार्यक्रमको तयारीमा लागे ।

30

संयोजक घिमिरेसँगको यात्रा निकै फलदायी रह्यो मेरा लागि । यात्रामा धार्मिक, आर्थिक, राजनीतिक विषयवस्तुदेखि टानले गोसाइँकुण्ड क्षेत्रमा के–कस्ता कार्यहरू गर्दैछ भन्ने कुराका बारेमा छलफल गर्दै ओरालो बाटो लाग्यौं । लौरीबिनायक, लौरीबिना, चोलाङपाटी हुँदै २ बजे चन्दनबारी पुग्यौं ।

त्यहाँ खाना खाएर हामी धुन्चे प्रस्थान गर्‍याेँ। हिँड्न सक्ने साथीहरू अघि लागे । संयोजक घिमिरे, प्रकाश खड्का, शाेभा खनाल, मलगायत केही साथीहरू बिस्तारै ओरालो झर्यौं । हाम्रो हिँडाइको रफ्तार कम भएकाले हामी साँझ ७ बजे मात्रै धुन्चे पुग्न सफल भयौं ।

33

ऐतिहासिक लाङटाङ–गोसाइँकुण्ड म्याराथन…

031

मिडिया संयोजक सुर्य बहादुर घिमिरे कार्यक्रमको तयारी गर्दै

गत वर्षको विनाशकारी भूकम्पले यस क्षेत्रमा ठूलै नोक्सान पुर्‍याको थियो । जसबाट विदेशी पर्यटकहरूमा नकारात्मक असर परिरहेको छ । भूकम्पले सबै पदमार्ग तथा विश्रामस्थलहरू समेत ध्वस्त पारेको छ भन्ने नकारात्मक सन्देश प्रवाह भइरहेको समयमा ट्रेकिङ एजेन्सीज एशोसियसन नेपाल (टान) ले ऐतिहासिक रूपमा गोसाइँकुण्ड–लाङटाङ हाफ म्याराथन सम्पन्न गर्‍याे।

२९ मेको बिहान ७ बजेर ५५ मिनेटमा गोसाइँकुण्डबाट सुरु भएको म्याराथन लौरीबिनायक, चोलाङपाटी, चन्दनबारी, धिम्सा, देउराली, घट्टेखोला हुँदै २१ किलोमिटरको दुरी पार गरी धुन्चेमा पुगेर समापन भएको थियो ।

31

म्याराथनमा प्रथम भएका धावक भरत खत्री

२१ किलोमिटरको दुरी १ घन्टा २२ मिनेट ५५ सेकेन्डमा पूरा गर्दै नेपाली सेनाका भरत खत्री प्रथम भएका थिए । १ घन्टा २३ मिनेटमा सो दुरी पूरा गर्दै नेपाली सेनाकै होमलाल श्रेष्ठ द्वितीय तथा जुम्लाका गोविन्दप्रसाद अधिकारी १ घन्टा २३ मिनेट ४६ सेकेन्डमा दुरी पार गर्दै तेस्रो भएका थिए ।

महिलातर्फको प्रथम उपाधी रसुवाकी फूलमाया स्याङ्बाले हात पार्न सफल भइन् । उनले २१ किलोमिटरको दुरी २ घन्टा ७ मिनेटको समयमा पार गरेकी थिइन् । सिन्धुपाल्चोककी कमला तामाङ २ घन्टा १८ मिनेट ५३ सेकेन्डमा पार गर्दै दोस्रो उपाधी जित्न सफल भइन् भने बन्दना विकले २ घन्टा २२ मिनेट १७ सेकेन्डमा सो दुरी पार गर्दै तेस्रो उपाधि जित्न सफल भएकी थिइन् ।

44

महिला तर्फ प्रथम फूलमाया स्याङ्बा आफ्नो बुबाको साथमा

धुन्चेको बालविकासको आँगनमा आयोजित समारोहमा टानका वरिष्ठ उपाध्यक्ष तेजबहादुर गुरुङ र सहायक प्रमुख जिल्ला अधिकारी केसीले विजेतालाई प्रमाणपत्र तथा चेक प्रदान गरेका थिए ।

महिला तथा पुरुषतर्फ प्रथम, द्वितीय तथा तृतीय हुने विजेतालाई प्रमाणपत्र तथा  क्रमशः ५० हजार, ३० हजार र २० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो ।

43

‘प्रकृतिले भरिपूर्ण रसुवाको यो क्षेत्रमा गत वर्षको विनाशकारी भूकम्पपश्चात थोरै पर्यटकहरू मात्र आउन थालेका थिए । टानले आयोजना गरेको यो प्रचारात्मक कार्यक्रमले गर्दा पर्यटकको संख्या बढ्ने कुरामा म ढुक्क छु’ प्रथम विजेता भरत खत्रीको भनाइ थियो । उनले भने– ‘केही दिनदेखि नियमित तयारी गरेकाले यो उपाधी जित्न सकें, यसमा म अत्यन्तै खुशी छु ।’

महिलातर्फकी प्रथम विजेता फूलमाया स्याङ्बाले पहिलो सहभागितामै प्रथम हुने मौका पाएकोमा खुशी व्यक्त गरिन् । उनली भनिन् ‘पहिलोपटक गोसाइँकुण्ड गएकी थिएँ, जित्छुजस्तो लागेको थिएन । तर, महिलाहरूको सहभागिता कम भएकाले जित्न सहज भयो ।’ बाटो साँघुरो र अति नै अप्ठ्यारो भएकाले यसको विकासतर्फ सचेत हुनुपर्ने स्याङ्बाको भनाइ थियो ।

समापन समारोहमा स्थानीय कलाकारहरूले स्थानीयपन झल्कने नाटक तथा विविध सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरेका थिए ।

मिडिया संयोजक सूर्यबहादुर घिमिरेका अनुसार यो म्याराथनमा ५ जना विदेशी र २३ जना महिलासहित जम्मा १ सय ३ जनाको सहभागिता थियो । टानका अध्यक्ष चन्द्रप्रसाद रिजाल भने कामको सिलसिलामा नेपालबाहिर थिए ।

sapkota

उपाध्यक्ष सापकाेटा

‘यो कार्यक्रम आयोजना गर्नुको मुख्य उद्देश्य आन्तरिक तथा बाह्य पर्यटकका लागि लाङटाङ क्षेत्र सुरक्षित छ भन्ने सन्देश दिनु थियो, यसमा हामी पूर्ण रूपमा सफल भयौं’ द्वितीय उपाध्यक्ष रामप्रसाद सापकोटाको भनाइ छ । सापकोटा भन्छन्– ‘दीर्घकालीन आर्थिक हितलाई ध्यानमा राखेर यो कार्यक्रम गरिएको हो । यसबाट राज्य र व्यवसायी दुबैलाई फाइदा पुगोस् ।’

गोसाइँकुण्ड हाफ म्याराथन आयोजनाका योजनाकार समेत रहेका उपाध्यक्ष सापकोटा भने यो कार्यक्रममा अनुपस्थित भए । उनी भन्छन्– ‘अतिथिलगायत व्यवस्थापनको भूमिकामा रहेका कारण सुरुमा उपस्थित हुन नसक्नु स्वाभाविकै थियो । तर, कार्यक्रमको समापनमा भने मौसमका कारण मुख्य अतिथिलगायत मेरो पनि अनुपस्थिति रह्यो । सबैलाई व्यवस्थित रूपमा जिम्मेवारी बाँडफाँट गरिएको र लाङटाङका व्यवसायीहरूको उल्लेखनीय साथ–सहयोग रहेका कारण कार्यक्रम पूर्णरूपमा सफल भयो । म यसमा अत्यन्तै खुशी र सन्तुष्ट छु ।’

35

मिडिया संयोजक सुर्यबहादुर घिमिरे कार्यक्रमको सञ्चालन गर्दै

मिडिया संयोजक सूर्यबहादुर घिमिरे भन्छन्– ‘टिममा सबै कुरा सोचेजस्तो नहुनु, सबैले सोचेजस्तो नगर्नु स्वाभाविकै हो । तर, हाम्रो टिमवर्क भएकाले सफल भयौं र सानातिना त्रुटिहरू भए पनि ती सतहमा देखिन पाएनन् । कतिपय पत्रकारहरूबाट हामीले सोचेभन्दा पनि राम्रो भूमिका र व्यवहार पाइएका कारण सहज रूपमा कार्यक्रम सम्पन्न भयो ।’ उनले भने– ‘रेडियो, टेलिभिजन, छापा र अनलाइन सबै मिडियामा समाचारको कभरेज अत्यधिक रह्यो । समग्रमा पत्रकारहरूको उपस्थिति र भूमिका हामीले सोचेभन्दा राम्रो र सफल भयो ।’ संयोजक घिमिरे थप्छन्– ‘मलगायत टानका पदाधिकारिहरू पत्रकारहरूको भूमिकाबाट अत्यन्तै खुशी र सन्तुष्ट छौं ।’

Devendra

अपरेसन अधिकृत देवेन्द्र

अपरेसन अफिसर देवेन्द्र डङ्गोल भन्छन्– ‘गोसाइँकुण्डबाट म्याराथन आयोजना गर्नु साधारण कुरा थिएन । एक त मौसमको साथ त्यति सहज भएन, म्याराथनकै दिन पनि हिमपात र पानी परेको थियो । अर्को कुरा, भीरको बाटोमा म्याराथन सहज पनि हुँदैन । तैपनि हामी सकुशल कार्यक्रम गर्न सफल भयौं, यो अत्यन्तै खुुशीको कुरा हो ।’

सुरक्षित छ गोसाइँकुण्ड–लाङटाङ क्षेत्र…

हामीले गोसाइँकुण्ड–लाङटाङ क्षेत्रको सहज तरिकाले अवलोकन गर्यौं । यो अवलोकनले यस क्षेत्रको यात्रा सहज र सुरक्षित तरिकाले गर्न सकिन्छ भन्ने प्रमाणित भएको छ ।

म्याराथनको आयोजनाबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा गोसाइँकुण्ड यात्रा सहज रूपमा गर्न सकिन्छ भन्ने सकारात्मक सन्देश गएको छ । भूकम्पले प्राकृतिक रूपमा खासै असर गरेको देखिएन । धुन्चे–गोसाइँकुण्ड पदमार्ग सुरक्षित भएकाले यात्रीहरूले यात्राभर कुनै कठिनाइ व्यहोर्नुपर्ने देखिँदैन ।

यात्रा रोमाञ्चकताका साथ सम्पन्न गर्न सकिन्छ । भूकम्पले गरेका असर मानवनिर्मित वस्तुहरूमा बढि देखियो, जुन पुनर्निर्माण भइरहेका छन् । कतिपय विश्रामस्थल र होटललजहरू पुनर्निर्माण भइसकेको अवस्था छ ।

पहुँच नै छैन सरकारको…

धुन्चेदेखि गोसाइँकुण्डसम्मको २१ किलोमिटरको दुरीमा सरकारी सुरक्षा निकायका कुनै पनि गतिविधि देखिँदैन । नेपाली सेना वा प्रहरीबाट सुरक्षा हुनु आवश्यक देखिन्छ । धिम्सा, देउराली, चन्दनबारी, चोलाङपाटी, लौरीबिनायक आदिमा सुरक्षापोस्ट हुनु जरुरी छ ।

त्यस्तै गोसाइँकुण्ड र यात्रुहरूको रेखदेखका लागि गोसाइँकुण्डमा पनि सरकारी निकायका कर्मचारी र सुरक्षाकर्मीको व्यवस्था भएमा यस क्षेत्रमा आउने यात्रुहरूले सहजता र सुरक्षित महसुस गर्नेछन् ।

(तस्बिर : मोहनप्रसाद मैनाली)

40

a

b

c

d

e

f

g

h

i

j

k

l

n

m

o

प्रतिकृया दिनुहोस्

 

प्रतिकृया दिनुहोस्