Paschim News

आज : २०८१ आश्विन २४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
न्यूज क्लब संवाददाता प्रकाशित : २०७६/८/२४ गते

काठमाडाैं । १३ औं दक्षिण एशियाली खेलकुद (साग) को समापन हुँदैछ । समापन कार्यक्रमलाई लक्षित गरी काठमाडौंका मुख्य सडक क्षेत्रमा बिजोर नम्बरप्लेट भएका सवारी सञ्चालनमा रोक लगाइएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले यातायात व्यवस्थापनका लागि जोरबिजोर प्रणाली लागू गरेको जनाउँदै मंगलबार जोर नम्बरप्लेटका गाडी मात्रै चलाउन अनुरोध गरेको छ । यसअघि साग उद्घाटनका दिन जोर नम्बर प्लेटका गाडी चलाउन रोक लगाइएको थियो ।

सरकारी, अत्यावश्यक सेवा, खेलसँग आबद्ध र सञ्चारकर्मीले बाहेक अन्यले मंगलबार सकेसम्म सवारी नचलाई प्रहरीलाई सहयोग गर्न अनुरोध गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिनुभयो ।

महाशाखाले सूचना जारी गरी ट्राफिक व्यवस्थापनलाई चुस्त र सुरक्षित बनाउन ठूला मालवाहक सवारी साधन रिङरोडभित्र प्रवेशमा रोक लगाइएको छ । महाशाखाले दशरथ रङ्गशाला वरिपरिका मार्गको सकभर प्रयोग नगरी वैकल्पिक तथा भित्री सडकको प्रयोग गर्न, पुराना सवारीसाधन नचलाउन, तोकिएको ठाउँमा पार्किङ गर्न, ट्राफिकसम्बन्धी समस्या भएमा प्रहरीको हटलाइन नम्बर १०३ मा सम्पर्क गर्न र ट्राफिक नियम पालना गर्न सूचनामार्फत सर्वसाधारणलाई अपिल गरेको छ । सूचनामा गाडीको हर्न नबजाउन तथा जथाभावी बाटो नकाट्नसमेत अनुरोध गरिएको छ ।

खेल हेर्न आउने सबैका लागि पार्किङस्थल टुँडिखेल तोकिएकाले त्यही ठाउँमा पार्किङ गर्न भनिएको छ । यस्तै मंगलबार खेल हेर्न टिकट काटेका दर्शकलाई मूलगेट प्रवेश नगरी आर्मी क्लबको गेटबाट प्रवेश गर्न आग्रह गरिएको छ ।

प्रतिकृया दिनुहोस्