Paschim News

आज : २०८१ कार्तिक ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
न्यूज क्लब संवाददाता प्रकाशित : २०७६/८/२७ गते

काठमाडौं । हालै सम्पन्न १३औँ दक्षिण एसियाली खेलकुद (साग) मा पदक जित्न सफल नेपाली खेलाडीलाई शुक्रबार नगर परिक्रमा गराइएको छ । पदक विजेताको सम्मानमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले खेलाडीलाई नगर परिक्रमा गराएको हो ।

नगर परिक्रमा त्रिपुरेश्वरस्थित राखेप हाताबाट शुरु भएको थियो । सुरुवातमा राखेपका उपाध्यक्ष एवं नेपाली टोलीका सेभ दि मिशन पिताम्बर तिम्सिना, संघीय सांसद् एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, राखेपका सदस्य–सचिव रमेशकुमार सिलवाल, खेलाडी, प्रशिक्षक, संघका पदाधिकारीसहित टोली न्यू रोड, इन्द्रचोक, मखन, भोटाहिटी, रत्नपार्क हुँदै भृकुटी मण्डपसम्म पैदल गएको थियो ।

पैदल नगर परिक्रमाका दौरान अगाडि भागमा नेपाली सेनाको व्यान्ड टोली थियो । भृकुटी मण्डपबाट सम्पूर्ण टोलीले भ्यानमा नगर परिक्रमा गरेका थिए । भृकुटी मण्डपबाट टोली सिंहदरबार, माइतीघर, थापाथली, कुपण्डोल, पुल्चोक, जावलाखेल, लगनखेल, सातदोबाटो, कोटेश्वर, तीनकुने, नयाँ बानेश्वर, माइतीघर, थापाथली, त्रिपुेश्वरस्थित राखेपको हातामा प्रवेश गरेपछि नगर परिक्रमा कार्यक्रम सम्पन्न भएको थियो । पूर्व निर्धारित कार्यक्रम अनुसार कोटश्वरदेखि सूर्यविनायकसम्म तय गरिएको रुट भने वर्षाका कारण स्थगित गरिएको थियो ।

मंसिर २४ गते सम्पन्न ७ राष्ट्र सहभागी सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कांस्य पदक जित्दै दोश्रो भएको थियो । जुन सागमा अहिलेसम्मकै नेपालको उत्कृष्ट प्रदर्शन हो । सन् १९९९ मा नेपालमै भएको आठौँ संस्करणमा पनि नेपाल दोश्रो भएको थियो । त्यसबेला भने नेपालले ३१ स्वर्ण, १० रजत र २४ कांस्य जितेको थियो।

प्रतिकृया दिनुहोस्