Paschim News

न्यूज क्लब संवाददाता प्रकाशित : २०७६/८/२४ गते

काठमाडौं । पुरुष फुटबलको फाइनलसँगै दक्षिण एसियाली खेलुकद ९साग० को तेह्रौं संस्करण आजबाट सकिँदैछ । विभिन्न चुनौतीबीच मंसिर १५ बाट सुरु साग आज दशौं दिन समापन हुन लागेको हो ।

१३ औं सागअन्तर्गत आज विभिन्न खेलका फाइनल खेलहरू हुनेछन् । जसमा पुरुष फुटबलको फाइनल खेल दिउँसो ३ बजे दशरथ रंगशालमा हुनेछ । स्वर्णका लागि नेपाल यू–२३ र भुटान यू–२३ बीच प्रतिस्पर्धा हुनेछ । भुटान पहिलो पटक साग फुटबलको फाइनलमा पुगेको हो भने नेपाल साविक स्वर्ण विजेता हो ।

आजै बास्केटबलतर्फ पुरुष र महिलाको फाइनल खेल हुनेछ । महिलातर्फ ऐतिहासिक रजत पक्का गरिसकेको नेपालको महिला बास्केटबल टिमले फाइनलमा भारतसँग त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकद परिषदको कभर्डहलमा खेल्नेछ ।

यस्तै, जुडोतर्फ आज अन्तिम स्वर्णका लागि टिम इभेन्टको खेल हुनेछ । उता, बक्सिङतर्फ आज ८ स्वर्णका लागि फाइनल खेल हुनेछ ।

सधैंजस्तै भारत यस पटक पनि पदक तालिकामा अगाडि रहेको छ । नवौं दिनसम्म भारतले सर्वाधिक १५९ स्वर्ण जितेको छ । जुन नेपालको भन्दा तेब्बर र केहीले बढी हो ।

यस्तै, ५० स्वर्ण जित्ने लक्ष्य राखेको नेपाल ४९ स्वर्णसहित दोस्रो स्थानमा छ । नेपाल लक्ष्यबाट १ स्वर्णले टाढा छ । तर सन् १९९९ मा आठौं साग आयोजना गर्दा हात पारेको दोस्रो स्थान यसपटक पनि सुरक्षित हुने पक्का छ ।

नेपालले आठौं आयोजना गर्दा ३१ स्वर्ण जित्दै ऐतिहासिक उपलब्धि हासिल गरेको थियो । यस पटक त्यो कीर्तिमान तोडिएको छ र एकै संस्करणमा सर्वाधिक स्वर्ण जित्ने कीर्तिमान बनिसकेको छ ।

तेस्रो पटक नेपालले साग आयोजना सम्पन्न गर्दैछ । १४ औं साग पाकिस्तानमा आयोजना गर्ने निर्णय भइसकेको छ र अब समापन समारोहमा पाकिस्तानले सागको झण्डा ग्रहण गर्नेछ ।

प्रतिकृया दिनुहोस्