Paschim News

न्यूज क्लब संवाददाता प्रकाशित : २०७६/१२/१२ गते

काठमाडौं । सरकारले कोरोना भाइरसले अर्थतन्त्रमा पारेको असरबारे अन्तर्राष्ट्रिय वित्तीय संस्थाका उच्च पदस्थ पदाधिकारीबीच छलफल गरेको छ । सरकारका प्रवक्ता तथा अर्थमन्त्री डा युवराज खतिवडाले दक्षिण एशियाली राष्ट्रका अर्थमन्त्री, अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैंक लगायत अन्तर्राष्ट्रिय वित्तीय संस्थाका उच्च पदस्थ पदाधिकारी बुधबार भिडियो कन्फरेन्स गर्नुभएको हो ।

भिडियो कन्फरेन्समा अन्तर्राष्ट्रिय वित्तीय संस्थाका उच्च पदस्थ पदाधिकारीबीच विश्वभर फैलिएको कोरोना भाइरसले अर्थतन्त्रमा पारेको असर र सम्भावित जोखिमबारे छलफल भएको अर्थ मन्त्रालयले जनाएको छ । भिडियो कन्फरेन्समा अर्थमन्त्रीले नेपालमा कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणका लागि अहिलेसम्म भइरहेको प्रयासबारे जानकारी गराउनुभएको छ।

छलफलमा अर्थमन्त्रीले ्पर्यटन, निर्माण र रोजगारीको क्षेत्रमा उत्पन्न समस्या यसले अर्थतन्त्रमा दीर्घकालसम्म पार्न सक्ने असरबारे नेपालकोतर्फबाट धारणा राख्नु भउभयो । उहाँ कोरोना महामारीको रुपमा फैलिएको यस रोगले सबै वर्ग र तप्कालाई कुनै न कुनै रुपमा प्रभाव पारेको यथार्थसँगै स्वास्थ्य सेवा, सामाजिक सुरक्षा र अर्थतन्त्रलाई टेवा पुग्ने गरी सबै क्षेत्रबाट सहयोगको अपेक्षा गरिएको बताउनुभयो अर्थमन्त्रालयले जनाएको छ ।

‘राज्यको क्षमता सीमित हुँदा क्षति पुगेका वास्तविक वर्ग र क्षेत्रलाई तत्काल र ठूलो सहयोग उपलब्ध गराउने विषय चुनौतीपूर्ण छ’ छलफलमा उहाँले भन्नुभयो, ‘कोरोनाबाट भएको क्षति परिपूरण गर्न नेपाल जस्ता कम क्षमता र श्रोत भएका मुलुकका लागि अन्तर्राष्ट्रिय वित्तीय संस्थाले विशेष सहयोग गर्नुपर्ने तथा क्षेत्रीय सहयोगका सम्भावित सबै संयन्त्र उपयोग गर्नुपर्नुपर्छ । दक्षिण एशियाली मुलुकको साझा संगठन सार्कलाई पुनर्जीवन दिदै विद्यमान संस्थागत संरचनाको पूर्ण उपयोग गर्ने, एकापसका व्यापार आपूर्ति प्रणालीलाई निरन्तरता दिने र आवश्यक परे स्वास्थ्य सेवामा थप सहकार्य गर्न सबै राष्ट्रले एक अर्कालाई सहयोग, साथ र आड भरोसा दिनुपर्छ ।’

भिडियो कन्फरेन्समा सहभागीले कोरोना भाइरसको रोकथामका लागि स्वास्थ्य क्षेत्रमा आवश्यक उपकरण तथा सुरक्षाका सामग्रीको व्यवस्था, स्वास्थ्य सेवा प्रणालीको विकास, साना तथा मझौला उद्यम र रोजगारीमा परेको प्रभाव, मौद्रिक तथा वित्त नीति बीच गर्न सकिने समन्वय र तादाम्यता तथा अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरुले गर्नसक्ने सहयोग बारे आआफ्नो धारणा राख्नु राखेका थिए ।

छलफलमा अन्तर्राष्ट्रिय मुद्रा कोषका डाइरेक्टर च्याञ्योङ्ग रि, विश्व बैंकका भाइस प्रेसिडेन्ट हार्टविग सेफर, अन्तर्राष्ट्रिय वित्त निगमका भाइस प्रेसिडेन्ट नेना स्टोजोभिक, बहुपक्षीय लगानी प्रत्याभूत संस्थाका भाइस प्रेसिडेन्ट तथा चिफ अपरेटिङ्ग अफिसर एस विजय आइयरका अतिरिक्त दक्षिण एशियाका राष्ट्रका एक्जुकेटिभ डाइरेक्टरहरु तथा एशियाली विकास बैंक, एशियाली पूर्वाधार लगानी बैंक जस्ता अन्तर्राष्ट्रिय वित्तीय संस्थाका पदाधिकारीको समेत सहभागिता थियो। छलफलमा अर्थसचिव, राजस्व सचिव, नेपाल राष्ट्र बैंकका कायम मुकायम गभर्नर, अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका सह सचिव तथा नेपाल स्थित विश्व बैकका कन्ट्री म्यानेजरको समेत उपस्थिति थियो ।

प्रतिकृया दिनुहोस्