Paschim News

प्रकाशित : २०७५/६/२४ गते

दशैँ–तिहार नजिकिएको छ । चाडबाडमा सबै नेपालीले ध्यान दिनुपर्ने कुरा खानपान नै हो ।

खानपानका कारण विश्वमा धेरै मानिस रोगी हुँदै गइरहेका छन् । नेपालमा झन् यसको अवस्था दर्दनाक छ ।

नियमित खाने खानेकुराहरुमा ध्यान नदिनु, स्वास्थ्यप्रति सचेत नहुनुका कारणले बर्सेनि धेरै मानिस रोगी हुनुका साथै अकालमा ज्यान गुमाउँदै गइरहेका विश्व स्वास्थ्य संगठनको तथ्यांकले बेला–बेलामा देखाउने गरेको छ ।

खान नपाएर मर्ने मानिसभन्दा धेरै खाएर मर्नेहरुको संख्यासमेत बढी रहेको सर्वेक्षणले देखाएको छ ।

मानिसले दैनिक गर्ने आहारविहारका कारण उसको जीवन कस्तो छ भनेर थाहा पाउन सकिन्छ । खानपानमा ध्यान नदिने कारणले गर्दा नै मानिसलाई मधुमेह, रक्तचाप, हृदयघातजस्ता रोग हुने गरेका छन् ।

हामी नेपालीमा सन्तुलित भोजन गर्ने बानी छैन । नहुँदा भोकभोकै बस्ने र पाएको बेलामा एकैपटक धेरै खानेकुरा खाने गर्दछौँ । जसको कारण शरीरको पाचन प्रक्रियामा समेत समस्या आउने गर्दछ ।

शरीरलाई चाहिनेभन्दा बढी पौष्टिक तत्व पाएपछि यसले विकारको रुप लिन्छ । जुन विकास अनावश्यकरुपमा शरीरमा बोसो बनेर बस्छ । यसरी बसेको बोसो रगतमा समेत जम्मा हुन थालेको अवस्थामा मानिस गम्भीर प्रकारको बिरामी हुन्छ ।

समयमा खाना खाने, सन्तुलित खाना खाने, पर्याप्त मात्रामा पानी खाने, नियमितरुपमा व्यायम गर्ने बानीको विकास गर्न सकियो भने हामी निरोगी हुनुका साथै फूर्तिलोसमेत हुने गर्दछौँ ।

दशैँ, तिहार, छठजस्ता ठूला पर्वहरु नजिकै आइरहेका छन् । दशैँ र तिहारमा अत्यधिक मासु, मदिराको सेवन बढी हुनेमा दुई मत छैन ।

स्वास्थ्यका दृष्टिकोणले एकजना मानिसले दैनिक दुई सय ग्रामभन्दा बढी मासु सेवन गर्नु स्वास्थ्यका लागि राम्रो मानिदैन । वर्षभरि मासु खान नपाउने घरमा समेत दशैँमा एकैपटक धेरै मासु ल्याउने चलन छ ।

मासुलाई पकाएर धेरै दिनसम्म राख्दा यसले स्वास्थ्यमा समस्या निम्त्याउने विशेषज्ञ डाक्टरहरुको भनाइ छ ।

थोरै मासु ल्याउने तर ताजा खाने बानीको विकास गर्न सकियो भने पनि स्वास्थ्यलाई हानि नगर्ने चिकित्सकहरु बताउँछन् ।

यस विषयमा सबैले ध्यान दिऔं, स्वस्थ बनौं ।

प्रतिकृया दिनुहोस्