Paschim News

प्रकाशित : २०७५/७/११ गते

शिक्षासेवी एवं नेकपाका पुराना कार्यकर्ता सीताराम मास्केको शनिबार निधन भएको छ । मस्तिष्काघातका कारण माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचार गराइरहेका मास्केको दिउँसो ३ः३० बजेतिर निधन भएको नेपाल शिक्षक महासङ्घका अध्यक्ष बाबुराम थापाले जानकारी दिएका छन् ।

मस्तिष्काघात भएपछि उपचारका लागि उनी एक महिनाअघि अस्पताल भर्ना भएका थिए । श्रद्धाञ्जलिका लागि मास्केको शबलाई आइतबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कार्यालय धुम्बाराहीमा राखिने महासङ्घका अध्यक्ष थापाले बताएका छन् । ६७ वर्षीय मास्केका ३ छोरा र श्रीमती छन् ।

अमेरिकामा रहेका दुई छोरा फर्केपछि सोमबार मात्र उनको दाहसंस्कार हुने भएको छ । नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका संस्थापक कोषाध्यक्ष रहेका मास्केले सरकारी शिक्षकबाट निवृत्त भएपछि निजी शैक्षिक संस्था खोलेका थिए । उनी स्वयम्भूस्थित जलजला शिशु सदनका सञ्चालक हुन् । २०४२ मा भएको निर्वाचनमा उनी नेकपा (माले) को तर्फबाट काठमाडौं नगरपालिकाको प्रमुख पदका उम्मेदवार थिए ।

मास्के राष्ट्रिय खेलकुद परिषदको उपाध्यक्ष र निजी तथा संस्थागत विद्यालय सङ्गठन (प्याब्सन) को महासचिव समेत भएको थिए । तेह्रथुममा जन्मिनुभएका उनी हाल काभ्रेस्थित नमोबुद्धमा बस्दै आएको राससले जनाएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका पुराना कार्यकर्ता सीताराम मास्केको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।

ट्वीटमार्फत उहाँले स्व मास्केप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकुल परिवार र आफन्तजनमा समवेदना व्यक्त गर्नुभएको छ । निरंकुशता विरोधी आन्दोलनका अगुवा मास्केको मस्तिष्कघातका कारण माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

प्रतिकृया दिनुहोस्